काठमाडौं – अन्लाइन फिल्म र सिरिज निर्माता नेटफ्लिक्सले ब्लकबस्टर बाहुबली फिल्मको पूर्वकथा (प्रिक्वेल) बनाउने घोषणा बिहीवार गरेको छ ।
दुईवटा सीजनमा उसले बाहुबली : बिफोर द बिगिनिङ (शुरूआतभन्दा पहिले) बनाउने घोषणा गरेको हो ।
सिरिजको पहिलो सीजनमा नौवटा एपिसोड हुनेछन् र यो आनन्द नीलकण्ठनको पुस्तक द राइज अफ शिवगामीमा आधारित हुनेछ । सिरिजमा रानी शिवगामी विद्रोही र प्रतिशोधी युवतीबाट बुद्धिमती र अतुल्य रानी बनेको कथा देखाइनेछ ।
माहिष्मतीको उदय अनि शक्ति, राजनीति र षड्यन्त्रलाई पनि कथामा प्रस्तुत गरिनेछ । बाहुबली फ्र्यान्चाइजीको कथा माहिष्मतीमा नै सेट गरिएको हो ।
सिरिजमा पनि फिल्मकै जस्तो उत्कृष्ट प्रोडक्सन भ्याल्यु, दर्शनीय दृश्य र महाकाव्यात्मक कथावाचन शैली अपनाइनेछ ।
बाहुबली निर्माण टोलीका सदस्य आर्का मिडिया वर्क्स र एसएस राजामौलीसँग नेटफ्लिक्सले सहकार्य गरेको छ । देव कट्टा र प्रवीण सतारुले सिरिजको निर्देशन गर्नेछन् ।
एजेन्सी