
काठमाडौं – संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सम्बन्धमा निर्णय लिन बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बिहान करीब ११ बजेबाट शुरू भएको बैठक झण्डै साढे २ घण्टा बसेर १५ मिनेटका लागि स्थगित भएको हो ।
नेकपाका तर्फबाट समिति सदस्य सांसद सुमनराज प्याकुरेलले सांसदहरू बोल्दाबोल्दै थाकेकाले १५ मिनेटका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
जोशीका सम्बन्धमा यही साउन १० गते नै सुनुवाइ भए पनि समितिले उनको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिन सकेको छैन ।
यसबारे निर्णय लिनका लागि मतदान हुने सम्भावना रहेको स्रोतले जानकारी दियो ।
सत्तारुढ दल नेकपाका सांसदहरू जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छन् । उनको शैक्षिक प्रमाणपत्र र विगतका कतिपय फैसला विवादित छन् ।
१५ सदस्यीय सुनुवाइ समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४ तथा फोरम र राजपाका एक-एक सांसद छन् ।
दुईतिहाइ बहुमतबाट अस्वीकृत भएमा जोशी प्रधानन्यायाधीश बन्नबाट वञ्चित हुनेछन् । नेकपाका ९ र संघीय फोरमका १ गरी सत्ता पक्षसँग दुई तिहाइ बहुमत छ ।
जोशीलाई संवैधानिक परिषदले गत जेठ २९ गते सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।