
काठमाडौँ– सरकारले विभिन्न नदी र खोल्सामाथि आवागमनका लागि बनाइएका तुइन विस्थापनका लागि अभियान शुरु गरेका तीन वर्ष बिते पनि अझै २६ वटा तुइन सञ्चालनमै छन् ।
विसं २०७२ असोज २५ मा दुुई वर्षभित्र तुइन विस्थापन हुने गरी मन्त्रिपरिषद्बाट निर्णय भएपनि अझैसम्म सबै तुइन विस्थापन भएका छैनन् ।
कठिन भौगोलिक बनावट र न्यून बजेटका कारण तुइन विस्थापनमा समस्या भएको हो । देशका विभिन्न नदी र खोल्सामाथि वारपार गर्न अन्य सुरक्षित उपाय नभएको अवस्थामा बनाइएका १३१ तुइनमध्ये हालसम्म १०५ वटा विस्थापन भई झोलुङ्गे पुल निर्माणको प्रक्रिया शुरु भएकोे छ ।
सरकारले कुनै पनि स्थानमा नयाँ तुइन बनाउन भने रोक लगाएको छ । बाँकी रहेका तुइनहरुको विस्थापनमा तदारुकता देखाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन र तुइन हटाउने कार्यमा आवश्यक सहयोगका लागि सबै स्थानीय तहमा यही साउन १६ गतेको मन्त्रालयका सचिव (दिनेशकुमार थपलिया) स्तरको निर्णयानुसार आग्रह गरेको छ ।
सरकारले चालू आर्थिक वर्षमा तुइन विस्थापन भई झोलुङ्गे पुल निर्माण गर्न सम्भाव्य सबै स्थानमा आगामी तीन वर्षभित्र पुल निर्माण गर्न रु तीन अर्ब ११ करोड ४० लाख बजेट विनियोजन गरेको छ ।