
काठमाडौं– भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई लक्षित गरी आक्रमण भएको छ । काराकासमा टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गरिरहेका बेला उनीमाथि ड्रोन आक्रमण भएको हो ।
सम्बोधन गरिरहेका बेला बिस्फोटन ड्रोन राष्ट्रपति मादुरो नजिकैबाट गएको तर उनी सुरक्षित रहेको सरकारी अधिकारीले बताएका छन् । सञ्चार मन्त्री होर्खे रोड्रिग्वेजले राष्ट्रपति मादुरोको ज्यान लिने प्रयास भएको बताएका छन् ।
घटनामा राष्ट्रपति मादुरोलाई केही नभए पनि धेरै सुरक्षाकर्मी घाइते भएको सञ्चारमन्त्री राड्रिग्वेजले बताए । सैनिकको एक कार्यक्रममा सहभागी भएका मादुरोले सम्बोधन गरिरहेका थिए, एक्कासी माथिबाट ठूलो आवाजसहित ड्रोन गयो, सबैले माथि हेरे । त्यसपछि केहीबेमै त्यो आवाज हरायो ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । घटनामा घाइते भएका सुरक्षाकर्मीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।