०७ असार २०८३, आइतबार

युवा उद्यमी शर्माको जोश – दरबारमार्गमा बेल्जियन वाफल्सको स्वाद !

युवा उद्यमी शर्माको जोश – दरबारमार्गमा बेल्जियन वाफल्सको स्वाद !

दरबारमार्ग, काठमाडौंको व्यस्त बजार । दरबारमार्गस्थित नेपाल ट्रष्टको छेउमा एक सपिङ मल छ ।

सपिङ मल छेउको साँघुरो गल्लीबाट करीब १ सय मिटर भित्र छिरेपछि ‘बेल्जियन वाफल्स कम्पनी’ नाम गरेको पसल आउँछ ।

बेल्जियम, नेदरल्याण्डलगायतका देशमा चर्चित र मीठो परिकार वाफल्स नेपालमा पाइने यही एउटा पसल हो ।

‘गरे के हुँदैन’ भन्ने भनाइलाई प्रमाणित गर्दै युवा उद्यमी आशिष शर्मा र श्रीमती अभिलाषा शर्माको प्रयासमा नेपालमा शुरू गरिएको वाफल्स शप निकै व्यस्त देखिन्छ ।  

दुई वर्षअघि शर्मा दम्पत्ती घुमघामका क्रममा बेल्जियमको ब्रुज ठाउँ पुगेका थिए । त्यहाँको चर्चित वाफल्स नखाई नफिर्किने विचार गरेपछि उनीहरूको नजिकैको वाफल्स शपमा पुगे ।

शर्मा भन्छन्, ‘त्यहाँ वाफल्स खान लागेको भीड देख्दा नेपालमा पनि यस्तै शप चल्ने कुरा मनमा आयो ।’

काम गर्दै सिक्ने जोखिम उठाउने चाहना राख्ने व्यक्ति मात्रै सफलताको हकदार हुन्छ भनेझैं शर्मा दम्पत्ती पनि नेपालमा नै वाफल्स शप शुरू गर्ने प्रेरणा लिएर स्वदेश फर्किए ।

त्यसको ठीक एक वर्षपछि शर्मा दम्पत्ती कामको शिलशीलामा भारतको गुजरातस्थित सुरत जाँदा पनि वाफल्स शपमा वाफल्सप्रतिको आकर्षण उस्तै भेटेपछि नेपालमा वाफल्स शप शुरु गर्ने योजना नै बनाए र शुरू पनि गरे । शर्माले भने, ‘भारतबाट फर्केपछि जसरी पनि शुरू गर्ने योजना बनाएँ । उतैको फ्लेभरमा रहने गरी धेरै कच्चा पदार्थहरू उतैबाट मगाइयो । शुरूवातमै निकै राम्रो भएको छ ।’

नेपालमा वाफल्स शप शुरू भएको २ महिना पुग्न लागेको छ । २ महिनासम्म आइपुग्दा ६ हजारभन्दा बढी वाफल्स विक्री वितरण गरिसकेकोमा शर्मा दम्पत्ती निकै सन्तुष्ट देखिन्छन् ।

जम्मा २५ वटा फ्लेभरको वाफल्स रहेको शपमा बेल्जियन, नेकेट न्युटेला र ट्रिपल चक्लेटको अत्यधिक माग रहेको शर्माले बताए । 

‘वाफल्समा युवाहरूको निकै आकर्षण छ । त्यसमथि इन्डियन युवाहरूको चाप बढी छ,’ सञ्चालक शर्माले भने, ‘अहिले नेपालीहरूलाई नुनिलो मन पर्ने भन्दै पिजा र बेकबिज फ्लेभर पनि शुरु गरेको छु ।’ 

वाफल्स कम्पनीमा भारतको मुम्बइमा तालिम गराइएका ५ जना शेफ छन् । 

कम्पनीले अहिले अनलाइन शप फूडमान्डूमार्फत् होम डेलिभरीको व्यवस्था गरेको छ भने क्याटरिङको सुविधा पनि शुरू गरेको छ ।

क्याटरिङको सुविधाअन्तर्गत विभिन्न पार्टीहरूमा तत्कालै बनाएर खुवाउने गरेको उद्यमी शर्मा बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्