
काठमाडौं – भेनेजुएलाका राष्ट्रपति निकालास मदुरोमाथि ड्रोन आक्रमण गरेर हत्याको प्रयास गरिएपछि अशान्ति मच्चिएको छ ।
ड्रोनहरूमा विस्फोटक पदार्थ भरेर मदुरोतर्फ प्रहार गरिएको थियो । उनले राजधानी काराकासमा शनिवार अपराह्नमा आयोजित सैनिक परेडलाई सम्बोधन गर्दै गर्दा यो आक्रमण भएको थियो ।
ती ड्रोनहरू मदुरोसम्म पुग्न भने पाएनन् । तिनलाई खसाइएको हो कि बाटैमा पड्किएका हुन्, प्रस्ट छैन । राष्ट्रपतिलाई केही भएन तर आक्रमणमा सातजना घाइते भएको त्यहाँका सूचनामन्त्रीले बताए ।
जोर्गे रोड्रिगेजले भने, ‘अनुसन्धानले प्रस्ट रूपमा ड्रोनजस्ता डिभाइसमा विस्फोटक भरिएर आक्रमण गरिएको देखाउँछ ।’
आक्रमणको दुई घन्टापछि राष्ट्रपतीय भवनबाट बोल्दै मदुरोले आफ्नो ज्यानमा आक्रमण गर्नेहरूलाई पक्राउ गरिसकिएको बताए ।
उनले कोलम्बियाका राष्ट्रपतिले यो आक्रमण गराएको आरोप लगाए । ‘सबै कुराले भेनेजुएलाको उग्रदक्षिणपन्थीहरू कोलम्बियाको उग्रदक्षिणपन्थीसँग गठबन्धन गरेको देखाउँछन् अनि कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोसतर्फ औंला ठड्याउँछन्,’ उनले भने ।
सान्तोसका प्रवक्ताले भने आरोप अस्वीकार गरे । उनले भने, ‘यो आरोप निराधार छ । हाम्रा राष्ट्रपति आफ्नी नातिनीको ब्याप्टिजममा ध्यान दिइरहनुभएको छ र विदेशी सरकार गिराउनमा उहाँलाई चासो छैन ।’
दुई राष्ट्रपतिहरूले एकअर्कालाई प्रायः शाब्दिक आक्रमण गर्ने गरेका छन् । सान्तोसले मदुरोलाई नियमित रूपमा निरंकुश शासक भन्ने गरेका छन् र मदुरोले देशलाई आर्थिक तथा राजनीतिक अव्यवस्थातर्फ धकेलेको बताउने गरेका छन् ।
एजेन्सी