११ असार २०८३, बिहीबार

‘जोशी प्रकरणमा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ’

‘जोशी प्रकरणमा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ’

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अस्विकृत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले प्रधानमन्त्री ओलीमा नैतिकता भए प्रधानन्यायाधीश प्रकरणमा सार्वजनिक माफी माग्नुपर्ने बताएका हुन् । 

उनले भने,‘बास्तवमा प्रधानमन्त्री ओलीले देश र जनताको नाममा गल्ती भयो भनेर माफी माग्नुपर्छ । किनकी उहाँ स्वयम् सम्मिलित संवैधानिक परिषदले जोशीलाई प्रधानन्यायाधीश बनाउन नाम सिफारिश गरेको थियो । उहाँले सिफारिश गरेको नाम सुनुवाई समितिले अस्विकृत गरेको छ । तत्कालिन प्रधानमन्त्री मोहनशमशेरले त जनतामा बोलेको कुरा पूरा नहुँदा माफी मागेको उदाहरण हामीसँग छ । संसदीय समितिमा राजनीतिक प्रभाव देखियो । यस्तो तरिकाले प्रभाव देखाउँदा प्रधानन्यायाधीश दलको भरौटे हुन्छ । स्वतन्त्र हुनै सक्दैन् ।’ 

उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुनुवाई समितिमा दुई तिहाईको दम्भ देखाएकापनि आरोप लगाए । 

उनले अव संघीय कानुन नबनाई प्रधानन्यायाधीशको सुनुवाई नगर्ने अडान समेत राखे ।  संघीय कानुन विनानै जोशीको सुनुवाई गर्दा आफूहरु फसेको उनको तर्क थियो ।  सांसद प्रधानले प्रधानमन्त्री, विपक्ष दलका नेता, प्रतिनिधिसभाका सभामुखसहित सर्वोच्च पदाधिकारीहरुले गरेको निर्णय अस्वीकृत गर्ने अधिकार संसदीय सुनुवाई विशेष समितिलाई नरहेको तर्क समेत गरे ।

समितिले प्रधानन्यायाधीशमा अस्विकृत गरेपछि कामु प्रधानन्यायाधीश जोशीले सुनुवाई समितिलाई नै आफ्नौ शैक्षिक प्रमाणपत्र नक्कली भए छानबिन गर्न चूनौति दिएको उल्लेख गर्दै सांसद प्रधानले भने,‘उहाँले मलाई अन्याय भयो भन्नुभएको छ । हामी त फस्यौं । उहाँले प्रमाणपत्र छानबिन गर्न चूनौति दिनुभएको छ ।’ संघीय कानून विना नै सुनुवाई गरिएको भन्दै समितिको निर्णयमा प्रश्न उठ्ने उनको भनाई छ । भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा सुनुवाई समितिको निर्णयको विषयमा व्यापक छलफल हुने समेत उनले जनाए । 
 

salt training

कमेन्ट गर्नुहोस्