काठमाडौ, ७ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन मिति घोषणा नगर्न मधेसी मोर्चाले चेतावनी दिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।
आइतबार निर्वाचन मिति घोषणाको तयारी गरिरहेका दाहाललाई शनिबार आफ्नै निवासमा भएको बैठकमा मोर्चाको यस्तो धम्की आएपछि स्थानीय निर्वाचनको भविष्य अनिश्चित बनेको छ ।

संविधान संशोधन नगरी चुनाव मिति घोषणा गरे प्रधानमन्त्रीले अनुमानै गर्न नसक्ने खालको आन्दोलन गर्ने चेतावनी मोर्चाका वरिष्ठ नेताले दिएपछि उनी अप्ठ्यारोमा परेका छन् ।
कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री दाहालले मोर्चाका लागि यति सहज सरकार कुनै दल र नेतृत्वको नहुने बताउँदै फकाउने प्रयास गरेका थिए ।
स्थानीय निर्वाचन मिति घोषणाको विरोध नगर्न मोर्चासँग अनुरोध गर्दै दाहालले भनेका थिए, ‘देशलाई प्रजातान्त्रिक प्रणालीमा लैजाँदा अवरोध आए पदबाट राजीनामा दिनेछु ।ु
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले भने, ‘मैले यसअघि पहिलोपल्ट प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणमा राजीनामा दिएको थिएँ । आज प्रमुख प्रतिपक्षी दल निर्वाचनको पक्षमा र सरकारसमर्थक मधेसी मोर्चा संविधान संशोधन भन्दै संविधान कार्यान्वयनमा अवरोध गर्नुहुन्छ भने पदबाट राजीनामा दिन्छु ।ु
बैठकमा प्रधानमन्त्री दाहालले केही समयपछि पद छाड्नै पर्ने भएकाले आफू विवादमा फस्न नचाहेको, पदमा रहुन्जेल राष्ट्र र जनताका पक्षमा काम गर्ने उद्देश्य मात्र रहेको बताएको झाले जानकारी दिए ।