काठमाडौं, ८ फागुन-स्थानीय निर्वाचनको घोषणा गर्ने तयारीसहित प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको मधेसी मोर्चासहितको बैठकमा चर्काचर्की भएपछि विनानिष्कर्ष टुंगिएको छ, अआजको राजधानीमा खबर छ |
स्थानीय तहको निर्वाचन घोषणामा मनाउन बोलाएको बैठकमा मोर्चाका नेताले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक संशोधनसहित पार नगरी निर्वाचन मिति घोषणा गरे आन्दोलनमा जाने निष्कर्ष सुनाएपछि बैठकमै प्रधानमन्त्री दाहाल र मोर्चाका नेताबीच भनाभन भएको हो ।
स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न भन्दै शनिबार बिहान बालुवाटार बोलाइएको मधेसी मोर्चासहितको बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचन र संशोधन सँगै अगाडि बढाउने प्रस्ताव गरेका थिए । तर, मोर्चाले पेल्ने नियतका साथ प्रस्तुत भएको भन्दै प्रधानमन्त्री दाहालको आलोचना गरे ।
मोर्चाका नेताले सरकारसँग सम्बन्ध टुट्ने चेतावनी दिँदै संशोधन नटुंग्याई निर्वाचनको उच्चारण नगर्न चुनौती दिएपछि प्रधानमन्त्रीले पनि अनावश्यक अडान नलिन दबाब दिएका थिए । दुई पक्षबीच केही बेरको चर्काचर्कीपछि दुवै पक्षले आ–आफ्ना कुरा राख्नेबाहेक बैठकमा कुनै सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।