
काठमाडौं–सरकारले सर्वसाधारण जनतालाई आक्रोशित हुनेगरी करको दायरा बढाएको भन्दै स्वयं सत्तारुढ दलका सांसदले सरकारको विरोध गरेका छन् ।
प्रतिनिधि सभाको सोमवार बसेको बैठकको विशेष समयमा सूर्य चिह्नलिएर चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका सांसद हृदयश त्रिपाठीले अनियन्त्रित कर विरुद्ध आन्दोलन शुरु भएको भन्दै यस बिषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ʻस्याङजामा एकजना ज्योतिषलाई समेत मासिक दुई हजार कर लगाइए छ, ज्योतिष काम गरेवापत कर रे ! बिचराले आफ्नो भाग्यवारे थाहै पाएनन्, दुई हजार करको चपेटामा आइपुगेʼ त्रिपाठीले संसदमा भने ʻकुखुरा परेवा जे देख्यो कर लगाइदिने, साइकिल अब हुँदाहुँदा मान्छेमाथि पनि कर लगाउने स्थिती आइसक्यो ।ʼ
त्रिपाठीले करका कारण संघीयता वदनाम हुने लागेपनि यही एउटै कारणले संघीयता घाइते नहुने दाबी गरे ।
ʻकसैकसैलाई लागेको होला यस बिषयमा सरकार सचेत भएन भने संघीयतालाई बदनाम गर्न पर्याप्त छ । कर विरुद्धको आन्दोलन शुरु भएको छ । संघीयता घायल हुने वाला छैनʼउनले भने, ʻयसबारे समयमै सोचिएन भने इष्ट देवको फोटो लिएर सबैले रुनु पर्ने अबस्था आउने छ ।ʼ त्रिपाठीले मनोमानी ढंगले कर थोपर्ने काम अन्त्यगर्न सरकारको ध्यानाकर्षण गराए ।
ʻनिर्वाचनपछि निर्वाचनले दिएको उपहार यहीे कर हो भनेर एउटा सन्देश गएको छ, संघीयताको विफलता भन्दापनि कर शैलीको विफलता होʼउनले भने । स्थानीय तहले आफूखुसी कर बढाएको भन्दै सर्वत्र विरोध भएको छ ।