काठमाडौं: चालू आर्थिक वर्ष २०७३/७४ को ६ महिनामै दुई लाखभन्दा बढी सवारी दर्ता भएका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्म दुई लाख ११ हजार नौ सय ९६ वटा सवारी दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांक छ। यो संख्या गत आर्थिक वर्षमा भित्रिएका कुल सवारी संख्याको करिब ३८ प्रतिशत मात्र कमी हो । गत आर्थिक वर्षमा तीन लाख ४३ हजार सवारी दर्ता भएका थिए।
नेपालमा कार, जिप, भ्यान, बस, पिकअप, ट्रक, क्रेन, डोजर, एस्काभेटर, माइक्रो बस, टेम्पो, ट्र्याक्टर, ई-रिक्सालगायत गाडी आयात हुन्छन् । थपिएका सवारीमध्ये मोटरसाइकलको संख्या धेरै छ । उक्त अवधिमा एक लाख ६३ हजार दुई सय ५५ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएको विभागको तथ्यांक रहेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा उत्तम काप्रीले समाचार लेखेका छन्।
तथ्यांकअनुसार दैनिक एक हजारको हाराहारीमा मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिने गरेका छन् । गत आर्थिक वर्षभरि नेपालमा दुई लाख ६७ हजार चार सय ३९ मोटरसाइकल/स्कुटर दर्ता भएको विभागको तथ्यांक छ । तथ्यांकअनुसार चालू आवमा तीन लाखभन्दा बढी मोटरसाइकल/स्कुटर भित्रिने अनुमान छ । नेपालमा एक लाख रुपैयाँ पर्ने इलेक्ट्रिक स्कुटरदेखि ५० लाखसम्मका ‘हेभी बाइक'समेत बिक्री हुन्छन्।
सवारी जाम र बिग्रँदो सडक अवस्थाका कारण पनि मोटरसाइकलमा आकर्षण बढ्दो छ । सरकारले सवारीसाधनमा लगाएको उच्च भन्सार दरका कारण पनि नेपालीको आम्दानीमा मोटरसाइकल/स्कुटर नै सहज बनेका हुन् । विभागका अनुसार अहिलेसम्म झन्डै २० लाख मोटरसाइकल तथा स्कुटर दर्ता भइसकेका छन् ।
चालू आर्थिक वर्षमा कार-जिपको आयात पनि उच्च हुने अनुमान छ ।
६ महिनाको अवधिमै १४ हजार ४६ थान कार, जिप र भ्यान भित्रिएका छन् । नेपालमा इन्ट्री लेभलका कारमा बढ्दो आकर्षण छ । मोटरसाइकलबाट कारमा ‘सिफ्ट' हुनेहरूको रोजाइमा यस्ता कार पर्ने गरेको व्यवसायीहरू बताउँछन् । नेपालमा १४ लाखदेखि २५ लाखसम्मका कारको बिक्री उच्च छ । अहिले हुन्डाईको क्रेटा, रेनल्टको डस्टर, फोर्डको इको स्पोर्ट सर्वाधिक बिक्री हुने एसयूभी कार हुन् । नेपाली सडकमा १४ लाख रुपैयाँदेखि चार करोड रुपैयाँसम्मका गाडी कुद्छन् ।