
काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले महिला र पुरुष समान हुन्छन् भनेर कागजमा लेखे पनि धेरै मानिसको मस्तिष्कले त्यसलाई स्वीकारिनसकेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक– २०७५ माथिको छलफलमा भाग लिँदै थापाले भने– 'लेख्न त हामीले लेख्यौं सम्माननीय सभामुख महोदय! (महिला/पुरुष) समान हुन्छन् भनेर दस्तावेजमा छ । हाम्रो मन र मस्तिष्कले मान्या छैन । अझै ठान्छौं– महिला पुरुषमा आश्रित नै छन् । निर्भर नै छन् ।'
उनले संविधान र कानून संशोधन नै गरेर भने पनि गल्ती सच्याउनुपर्ने बताए ।
'कानूनमा समान बनाउन संविधानले छेक्छ भने सुधारौं, तर गल्ती नदोहोर्याउँ । अहिले आमाको नामबाट नागरिकता दिने कुरालाई सहज बनाउने मौका आएको छ, यसमा नचुकौं,' थापाले भने ।
सो अवसरमा थापाले आफैंले भोगेको कुरालाई उदाहरणको रूपमा सुनाए । लगातार दुई छोरी जन्मिएपछि केही सांसदले आफूलाई छोरा जन्माउन मन्दिर र तन्त्रमन्त्रबारे सुझाएको उनको भनाइ थियो ।
के भने गगनले ?
सम्माननीय सभामुख महोदय !
२०६८ सालमा हाम्रो पहिलो छोरीको जन्म भयो । २०७१ सालमा म दोस्रो संविधानसभामा सदस्यको रूपमा निर्वाचित भएर आएँ । संयोगले पहिलो छोरी जन्मेको ठीक तीन वर्षपछि त्यही दिन हाम्रो दोस्रो छोरीको जन्म भयो ।
हामी त्यो बेलामा संविधानसभामा अघिल्लो संविधानसभाबाट आएका दस्तावेजमा छलफल गरिरहेका थियौं, महिला हकअधिकारको सम्बन्धमा, समान वंशीय अधिकारको सम्बन्धमा ।
अहिलेभन्दा फरक थियो संविधानसभाको माहोल । हामी फरक पार्टीका फरकफरक सांसद सबै मिल्ने साथी पनि थियौं ।
दोस्रो छोरी भएपछि मलाई मेरा थुप्रै साथी सांसदले सोध्नुभयो– के भयो ? मैले छोरी भयो भनें ।
धेरैले बधाई दिनुभयो ।
केहीले अनुमान लगाउनु भयो ।
दोस्रो पनि छोरी भयो भनेपछि म चिन्तित छु भन्ने अनुमान लगाएर केही सांसदले मन्दिरबारे बताउनुभयो, त्यहाँ गएर भाकल गरे तेस्रो छोरै हुन्छ भनेर ।
कतिले केही सन्तमहन्तबारे बताउनुभयो ।
म चिन्तित पनि भएँ । दु:खी पनि भएँ ।
लेख्न त हामीले लेख्यौं सम्माननीय सभामुख महोदय समान हुन्छ भनेर । दस्तावेजमा छ । तर हाम्रो मन र मस्तिष्कले मान्या छैन । अझै ठान्छौं महिला पुरुषमा आश्रित नै छन् । निर्भर नै छन् ।
अहिले पनि बराबर हुन्छ भनेर हामीले स्वीकारेका छैनौं । त्यसैले चुक्छौं । अहिले आमाको नामबाट नागरिकता दिने कुरालाई सहज बनाउने केही मौका आएको छ ।
कानूनमा समान बनाउन संविधानले छेक्छ भने सुधारौं, तर गल्ती नदोहोर्याउँ । सच्याउने बेला आएको छ, सच्याऔं ।