
काठमाडौं – नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनको केन्द्रीय कमिटी ४ सय ९९ सदस्यीय हुने भएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि भातृ विद्यार्थी संगठन एकीकरण हुने चरणमा रहेको छ । तत्कालीन एमाले निकट अनेरास्ववियू र माओवादी निकट क्रान्तिकारीबीच एकीकरणलाई टुंगो लगाउन शुक्रवार कार्यदलको बैठक बसेको थियो ।
कार्यदलमा पूर्व एमाले निकट अनेरास्ववियूको तर्फबाट रविन्द्र अधिकारी र नविना लामा तथा पूर्व अखिल क्रान्तिकारीबाट रमेश मल्ल र रञ्जित तामाङ छन् । कार्यदलले ४ सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुने टुंगो लगाएको हो । केन्द्रीय कमिटीमा पूर्व अनेरास्ववियूबाट २ सय ६० र पूर्व अखिल क्रान्तिकारीबाट २ सय ३९ जना सदस्य रहने गरी टुंग्याएको छ ।
यसअघि, अनेरास्ववियूको कमिटी २ सय सदस्यीय थियोे भने क्रान्तिकारीको कमिटी २ सय ४३ सदस्यीय थियोे । एकीकरणपछि विद्यार्थी संगठनको नाम स्थापनाकालीन साझा नाम ‘अनेरास्ववियू’ राख्ने सहमति भएको छ । संगठनको नेतृत्वको विषयमा भने अर्काे बैठकले टुंग्याउने जनाइएको छ ।