काठमाडौं, ८ फागुन — जागिर खानु सजिलो छैन । सबै काम समयमै र पर्फेक्ट रूपमा सक्न सफल मानिस मात्र जागिरमा टिक्छ । अलिकति तलमाथि भयो भने जागिर नै खुस्किन पनि सक्छ ।

तर बेलायतमा एक यस्ता कर्मचारी छन् जसको कम्पनीमा जो पनि जागिर खान चाहन्छ किनकि उनी सबै कर्मचारीलाई एकदमै खुशी बनाएर राख्छन् । बेलायतमा यिनलाई सर्वोत्कृष्ट हाकिमका रूपमा चिनिन्छ ।
यी हुन् क्रिस मोर्लिङ । उनी मनी डट् को डट् युकेका मालिक र म्यानेजिङ डाइरेक्टर हुन् । आफ्नो वेबसाइटमा काम गर्ने सबै कर्मचारीलाई उनी विशेष ख्याल राख्छन् । ‘मेरा लागि काम गर्ने सबैजनामाथि विचार पु–याउनु मेरो कर्तव्य हो किनकि यही टिम नै मेरो अनमोल धरोहर हो,’ उनी भन्छन् ।
क्रिसको वेबसाइटमा काम गर्ने स्टाफलाई सित्तैमा बीयर दिइन्छ । अनि हरेक वर्ष उनीहरूलाई विश्वका शहरमा घुम्ने मौका पनि दिइन्छ । अफिसमा काम गर्दागर्दै बोर लाग्यो भने कर्मचारीले फिल्म हेर्न पनि पाउँछन् ।
क्रिसले आफ्ना कर्मचारीहरूको हरेक सुविधालाई ध्यान दिँदै दश हजार स्क्वेर फीटमा अफिस बनाएका छन् । अनि यसलाई आरामदेही र सुविधासम्पन्न बनाउनका लागि उनले करोडौं खर्च गरेका छन् ।
यहाँ काम गर्ने कर्मचारीहरूलाई अफिस र त्यहाँको वातावरण सुधार्नका लागि उनीहरूको आवश्यकताका बारेमा सोधिन्छ अनि त्यसलाई कार्यान्वयन गरिन्छ । कुनै पनि कर्मचारीलाई गुनासोको मौका नआओस् भनी उनी ध्यान दिन्छन् ।
क्रिसको कार्यालयमा कर्मचारीहरूका लागि सित्तैमा जिम र योग स्टुडियोको सुविधा पनि छ ।
यो अफिसमा ५० कर्मचारी काम गर्छन् । क्रिस आफैंले जब इन्टरभ्यु लिन्छन् र सबै कर्मचारीसँग मेलजोल गर्छन् ।
कर्मचारीलाई वर्षको अन्त्यमा ४५ प्रतिशत बोनस पनि दिन्छन् उनले । आफ्नो वेबसाइटलाई धेरै अघि पु–याउनका लागि उनी दिल खोलेर कर्मचारीलाई सुविधा दिन्छन् ।
कर्मचारीलाई सुविधा दिँदा, उनीहरूको आवश्यकता र आकांक्षलाई ध्यान दिँदा उनीहरू मेहनत गर्छन् भन्ने मान्यता क्रिसको छ ।
एजेन्सीको सहयोगमा