१७ असार २०८३, बुधबार

आफूलाई यौनदासी बनाउने व्यक्तिलाई भेटेपछि जर्मनीबाट भागेकी युवतीको दर्दनाक कथा

आफूलाई यौनदासी बनाउने व्यक्तिलाई भेटेपछि जर्मनीबाट भागेकी युवतीको दर्दनाक कथा

काठमाडौं – कुनै पनि व्यक्ति एकचोटि कैदमुक्त भएपछि फेरि कहिल्यै त्यस्तो नहोस् भनी प्रार्थना गर्छ । तर आफूलाई कैदमा राख्ने मानिससँग अचानक भेट हुँदा उसमा डर र त्रास फैलिनु स्वाभाविक हो । 

एक याजिदी युवती लामो समयसम्म आतंकवादी संगठन इस्लामिक स्टेटको यौनदासी भएर बस्नुपरेको थियो । 

ती युवतीको नाम अश्वाक हो र उनी १४ वर्षकी हुँदा उत्तरी इराकमा आईएस लडाकूले आक्रमण गरे । उनीहरूले त्यतिखेर हजारौं महिलालाई यौनदासी बनाए र अश्वाक पनि तीमध्ये एक थिइन् । 

आईएस लडाकूहरूले १०० डलरमा अश्वाकलाई अबु हुमाम नामक व्यक्तिलाई बेचे । 

हुमामको घरमा अश्वाक दिनदिनै यौन हिंसा र यातना सहन्थिन् । तीन महिना उनी यो खतरनाक र पीडादायी वातावरणमा बसिन् र एक दिन भाग्न सफल भइन् । 

त्यसपछि अश्वाक आफ्नी आमा र एक भाइसँग जर्मनी आइन् । अब आफूले विगतलाई फर्केर नहेर्ने र जिन्दगीलाई नयाँ तरिकाले शुरू गर्ने संकल्प लिइन् । 

उनको नयाँ जीवन चलिरहेको बेलामा केही महिनाअघि उनले त्रासको सामना गरिन् । एक सुपरमार्केट बाहिरको गल्लीमा उनले आफ्नो नाम लिएर कसैले बोलाइरहेको सुनिन् । 

अश्वाक भन्छिन्, ‘स्कूल जाँदा अचानक एक कार मेरोनजिक रोकियो । ऊ अगाडिको सीटमा बसेको थियो । उसले मसँग जर्मन भाषामा तिमी अश्वाक हौ भनी सोध्यो । म बेस्सरी डराएँ र काँप्न थालें । अनि उसलाई सोधें, होइन, तपाईं को हो ?’

‘उक्त व्यक्तिले तिमी अश्वाक हौ मलाई थाहा छ भने र आफू अबु हुमाम भएको बताए । अबु हुमामले त्यसपछि अरबी भाषामा कुरा गर्दै झुट नबोल तिमी कोसँग कहाँ बस्छ्यौ मलाई थाहा छ भन्यो । उसलाई मेरो जर्मनीको जीवनका बारेमा सबै कुरा थाहा थियो ।’

उनी भन्छिन्, ‘मैले जर्मनी आएर पनि त्यो मान्छेलाई भेटिएला भनेर कल्पनै गरेको थिइनँ । उसले मलाई दिएको यातनालाई बिर्सनका लागि नै म देश छोडेर जर्मनी आएकी थिएँ । म उसलाई कुनै हालतमा भेट्न चाहँदिनथिएँ ।’

जर्मनीका फेडरल प्रोसिक्युटरले अश्वाकले यो घटनाको पाँच दिनपछि प्रहरीलाई जानकारी दिएको बताए । 

प्रहरीलाई त्यस दिनको घटना र इराकमा भोगेका खतरनाक अनुभव प्रहरीलाई बताएको जनाकारी दिइन् । उनले प्रहरीलाई सुपरमार्केटको सीसीटीभी क्यामरा पनि हेर्न भनिन् तर प्रहरीले वास्ता गरेन । 

अश्वाकले पूरा एक महिना प्रतीक्षा गरिन् तर प्रहरीबाट यसबारेमा कुनै जानकारी पाइनन् । 

त्यसपछि अश्वाक फेरि उत्तरी इराक फर्केर गइन् । उनलाई अबु हुमामसँग फेरि भेटिएला भन्ने डर त थियो तर आफ्ना चार दिदीबहिनी भेट्ने आशा पनि थियो । उनका दिदीबहिनीलाई पनि आईएस लडाकूले बन्दी बनाएका थिए । 

अश्वाक भन्छिन्, ‘तपाईंले यस्तो घटना भोग्नुभएको छैन भने थाहा पाउनुहुन्न । यस्तो हुँदा मुटुमा ढ्यांग भएजस्तो हुन्छ र केही पनि थाहा हुन्न । आफूलाई रेप गरेको मानिस अचानक आफूसमक्ष आउँदा के हुन्छ तपाईं सोच्न पनि
सक्नुहुन्न ।’

जर्मनीको सर्वोच्च अदालतकी प्रवक्ता फ्रोक खूलरले बताएअनुसार, प्रहरीले ईफिट इमेजका आधारमार्फत अनि अश्वाकको बयानको आधारमा अबु हुमामलाई खोज्ने पूरा कोशिश गरेको भएपनि पत्ता लगाउन सकेको छैन ।

प्रहरीले जुन महिनामा अश्वाकसँग सम्पर्क गर्ने कोशिश गरेको भएपनि उनी इराक फर्किसकेकी थिइन् । 

जर्मनीका अधिकारकर्मीहरू यो एकमात्र घटना नभएको बताउँछन् । 

याजिदीहरूको अधिकारका लागि काम गर्ने संस्था आवर डट् हेल्पकी संस्थापक तथा अभियन्ता डुजेन टेकलले याजिदी शरणार्थी युवतीहरूले जर्मनीमा आईएस लडाकूलाई चिनेको बताएकी छन् । 

अश्वाक आफैंले पनि आईएसको कैदबाट भागेर आएका अन्य याजिदी युवतीबाट यी कुराहरू सुनेको बताइन् । 

तर सबै घटना प्रहरीसमक्ष पुगेको छैन । 

कुर्दिस्तान पुगेर याजिदी शिविरमा बसेकी अश्वाक आफ्नो पढाइ जारी राख्न चाहन्छिन् तर उनको परिवार देश छोड्न चाहन्छ । 

अश्वाकका पिता आईएसका मानिससँग एकदम डर लाग्ने बताउँछन् । 

तर जर्मनीमा भएको घटनाले अश्वाकको मनमा गहिरो असर पारेकाले संसारै उल्टेपनि आफू जर्मनी नजाने बताउँछिन् । 

अन्य याजिदी जस्तै अश्वाकको परिवारले पनि अस्ट्रेलिया जनका लागि निवेदन दिएको छ । आईएस लडाकूले अपहरण गरेका युवतीका लागि चलाइएको विशेष कार्यक्रम अन्तर्गत उनीहरू अस्ट्रेलिया जनका लागि निवेदन दिँदैछन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्