
काठमाडौं – टर्कीको गल्सपोर फूटबल क्लबले १० वटा बाख्री किन्नका लागि आफ्ना १८ खेलाडी बेचेको छ । यो निर्णयबाट आफूहरूलाई अतिरिक्त आम्दानी हुने क्लब व्यवस्थापनको भनाइ छ ।
अनि बाँकी खेलाडीको खर्च पनि यसबाट सजिलै उठ्ने विश्वास क्लबको छ ।
क्लब अध्यक्ष केनन बायुक्लेब्लेबले आफ्नो क्लब लामो समयदेखि फन्डको कमी झेलिरहेको बताए । उनले सरकारका तर्फबाट कुनै सहायता नपाइएको बताए । यसबाहेक कुनै पनि लीगमा खेल्नका लागि स्पोन्सरशिप पनि नपाइएको
उनी बताउँछन् । त्यसैले बाख्री किन्ने निर्णय उनले गरे ।
बायुक्लेब्लेबका अनुसार, उनको क्लबलाई अतिरिक्त आम्दानी अत्यन्त जरूरी छ । क्लबको ऋण धेरै बढेको छ । टीमका खेलाडीलाई पैसाको आवश्यकता छ ।
क्लबका १८ खेलाडी बेचेपछि १८ हजार लिरा कमाइ भएको उनको भनाइ छ । त्यसले १० बाख्री किनिएको उनी बताउँछन् । बाख्रीको दूध बेचेर क्लबले हरेक महिना पाँच हजार लिरा कमाउने उनले आशा गरेका छन् । यसबाट क्लबको
घाटा अन्त्य हुने उनी विश्वास गर्छन् ।
बायुक्लेब्लेबका अनुसार, यो योजना सफल भएमा क्लबले अरू बाख्री किन्नेछ । यसअन्तर्गत ६ वर्षमा १४० बाख्री किनिनेछन् ।
गल्सपोर टर्कीको सबभन्दा पुरानो फूटबल क्लबमध्ये एक हो । यो सन् १९५४ मा स्थापना गरिएको थियो ।
एजेन्सी