
काठमाडौं – सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धका बेलामा छुट्टिएका दक्षिण कोरियालीहरू आफ्ना नातेदार भेट्नका लागि उत्तर कोरिया जानेछन् ।
युद्धपछि कोरियाली प्रायद्वीप दुई देशमा विभाजन भएको थियो अनि उत्तरी भागमा रहेका मानिसले उक्त ठाउँ छोड्न पाएका थिएनन् ।
दुई कोरिया अहिले पनि प्राविधिक रूपमा युद्धमै छन् र उनीहरू यसअघि पनि पुनर्मिलन कार्यक्रम चलाउँदै आएका छन् । तर यो पुनर्मिलन तीन वर्षमा पहिलोपटक भएको हो ।
दक्षिण कोरियालीहरू लटरीबाट छानिएका थिए र तीमध्ये सबैभन्दा वृद्ध व्यक्ति १०१ वर्षका छन् ।
आफूले भेट्न चाहेका नातेदारको मृत्यु भइसकेको थाहा पाएपछि कतिपय दक्षिण कोरियालीहरू उत्तर गएनन् ।
पुनर्मिलन समारोहमा ८३ उत्तर कोरियाली र ८९ दक्षिण कोरियालीहरू छन् ।
बयान्नब्बे वर्षीया एक महिलाले युद्ध अन्त्य भएपछि पहिलोपटक छोरालाई भेट्न लागेको पत्रकारहरूलाई बताइन् ।
ली केउम–सियोम नामक ती महिला आफ्नो चार वर्षीय छोराबाट छुट्टिएकी थिइन् । भाग्ने क्रममा उनी पतिसँग पनि छुट्टिएकी थिइन् ।
कोरियाली युद्धले लाखौं मानिसलाई परिवारबाट छुट्ट्याइदिएको थियो ।
दक्षिण कोरियालीहरू बस चढेर माउन्ट कुमगाङ टुरिस्ट रिजोर्ट पुग्नेछन् । त्यो सीमाक्षेत्रमा गार्डहरूको बाक्लो पहरा रहन्छ ।
दक्षिण कोरियालीहरू उत्तरमा तीन दिन बिताउनेछन् तर उनीहरू नातेदारसँग दिनका केही घन्टा मात्र बस्न पाउनेछन् । तीन दिनमा ११ घन्टा मात्र उनीहरू नातेदारसँग बस्न पाउनेछन् । उनीहरूमध्ये धेरैलाई कठोर निगरानीमा राखिनेछ ।
उत्तरका गरीब नातेदारलाई दिनका लागि धेरैले आफूसँग कपडा, औषधि र खानेकुरा लगायतका उपहार ल्याउनेछन् ।
रेडक्रसले आयोजना गरेको यो कार्यक्रम गत अप्रिल महिनामा उत्तर कोरियाका नेता किम जोङ–उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनको सीमाक्षेत्रमा ऐतिहासिक वार्तापछि सम्भव भएको हो ।
बीबीसीबाट