नुवाकोट, ८ फागुन - उपराष्ट्रपति नन्दबहादुर पुनले तोकिएको समयभित्र तीनवटै निर्वाचन गरेर संविधान कार्यान्वयनमा लाग्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
आज कुमरी गाविस–५ नेपानेडाडामा निर्माण भएको सुकमान मेमोरियल पोलिक्लिनिकको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले जनताको लामो सङ्घर्षपछि प्राप्त संविधानलाई कार्यान्वयन गराउन निर्वाचन आवश्यक रहेकोमा जोड दिनुभयो ।
“लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो । हाम्रो नयाँ संविधान कार्यान्वयन गराउन निर्वाचन आवश्यक छ । जनताको लामो त्याग पछि आएको संविधान कार्यान्वयन गराउनुपर्छ । यसका लागि दलहरुले सहमती गरेर निर्वाचन गराउनुपर्छ,” उपराष्ट्रपति पुनले भन्नुभयो । राज्यले दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तार गर्न ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सुकमान मेमोरियल पोलिक्लिनिक स्थापना भएपछि कुमरी गाविस तथा धादिङको केवलपुर र जीवनपुर गाविसका बासिन्दाले स्वास्थ्य सेवा पाइरहेका छन् । विसं २०७२ वैशाख १२ गतको भूकम्पले भत्काएको पोलिक्लिनिक भवन रु एक करोड ५० लाखको लागतमा पुनःनिर्माण गरिएका हो । ‘नेपालको लागि स्वास्थ्य र शिक्षा’ संस्थाको सहयोगमा सो पोलिक्लिनिक स्थापना गरिएको अध्यक्ष जगत लामाले जानकारी दिनुभयो । रासस