
काठमाडौं – भारतको बिहार राज्यका पटना प्रहरीले डा एसएम रोहतगीलाई नेपालको सिम कार्डबाट फोन गरेर फिरौती मागिएको मंगलवार जनाएको छ ।
पाटलीपुत्रमा बस्ने रोहतगीले मंगलवार बिहान पौने १ बजे आफ्नो निजी मोबाइल फोनमा एक अपरिचित व्यक्तिले चार करोड भारु मागेको जानकारी दिए । रोहतगी उक्त क्षेत्रको एक निजी अस्पतालमा काम गर्छन् ।
फोन पाउनेबित्तिकै रोहतगीले पाटलीपुत्र कोलोनी प्रहरी चौकीमा एफआईआर दर्ता गराएका छन् ।
मंगलवार पटनाका एसएसपी मनु महाराजले नेपाली मोबाइल नम्बरबाट कल आएको र घटनाको अनुसन्धान भइरहेको बताए ।
‘प्रहरीले विभिन्न स्रोतबाट प्राविधिक सहयोग लिएर कुन ठाउँबाट कल आयो भनी सुनिश्चित हुन खोज्दैछ,’ उनले भने, ‘स्थानीय प्रहरी चौकीलाई सतर्क रहन भनिएको छ र चिकित्सकको घर तथा अस्पतालमा गस्ती बढाइएको छ ।’
स्रोतहरूका अनुसार, कल कि त नेपालबाटै गरिएको कि त कसैले भारतकै कुनै ठाउँबाट नेपाली सिमकार्ड प्रयोग गरेर प्रहरीलाई छक्याउन खोजेको हुनुपर्छ ।
‘कल डिटेल रेकर्ड र कल गर्दाको टावर लोकेसन पत्ता लगाएपछि मात्र प्रहरीले आरोपितलाई समात्नका लागि अनुसन्धान अघि बढाउन सक्छ,’ एक अधिकारीले बताए ।
रोहतगीले चाहिँ ‘तिमीले धेरै पैसा कमाइरहेका छौ, चार करोड भारु ठिक्क पारेर राख्नू’ भनी धम्की दिनेले भनेको बताए ।
एजेन्सी