
कञ्चनपुर – भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै बिहीवार पनि कञ्चनपुरका विभिन्न क्षेत्रका बजारका चोकचोकमा आन्दोलन भइरहेको छ ।
बुधवारसम्म सदरमुकाम महेन्द्रनगरमा सीमित रहेको आन्दोलन बिहीवार जिल्लाभरि फैलिएको छ । प्रहरीले हत्याका मुख्य अभियुक्तलाई बचाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई सार्वजनिक गरेको गुनासो गर्दै आन्दोलनकारी थप आक्रोशित भएका छन् ।
बिहीवार बिहानैबाट सदरमुकाम महेन्द्रनगरसहित बेदकोट नगरपालिकाको सुडा, लालपुर, दैजी तथा शुक्लाफाँटा नगरपालिकाको झलारीमा आन्दोलन भइरहेका छन् । आन्दोलनकारीले सडक र चोकचोकमा टायर बाल्दै नारावाजी गरेर प्रदर्शन गरिरहेका छन् ।
मंगलवार र बुधवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरिरहेका आन्दोलनकारीमाथि प्रहरी प्रशासनले दमन शुरू गरेपछि आन्दोलन जिल्लाभरि फैलिएको छ । आन्दोलनमा विद्यार्थी, महिला, व्यापारी, बुद्धिजीवी, नागरिक अगुवा, सर्वसाधारण लगायतको सहभागिता रहेको छ ।

बिहीवार आन्दोलनलाई नियन्त्रणमा लिन भन्दै प्रशासनले कैलालीबाट समेत सुरक्षाकर्मी झिकाएको छ । महेन्द्रनगरका चोकचोकमा दंगा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । सुरक्षाकर्मीको दमनबाट आक्रोशित सर्वसाधारणले लालपुर चोकमा सशस्त्र प्रहरीले गाडी नियन्त्रणमा लिएका स्थानीय कृष्ण पाण्डेयले बताए ।
महेन्द्रनगर बजारमा समेत स्थानीय व्यापारीले स्वस्फूर्त रुपमा बजार बन्द गर्दै आन्दोलन गरिरहेका छन् । कञ्चनपुरमा सवारीसाधन, विद्यालय लगायत सबै ठप्प भएका छन् ।