०४ असार २०८३, बिहीबार

आईएस प्रमुख बग्दादीको नयाँ सन्देश – ‘अल्लाहले लिइरहेछन् परीक्षा’

आईएस प्रमुख बग्दादीको नयाँ सन्देश – ‘अल्लाहले लिइरहेछन् परीक्षा’

काठमाडौं — आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) का प्रमुख अबु बकर अल–बग्दादीले एक श्रव्य सन्देश सार्वजनिक गरेको बताइएको छ । सन्देशमा उनले अल्लाहले परीक्षा लिइरहेको र अहिले एकजुट हुनुपर्ने बताएका छन् । श्रव्य सन्देश लगभग ५५ मिनेटको छ ।

सीएनएनका अनुसार, बग्दादीले श्रव्य सन्देशमा समर्थकहरूलाई भय र भोकको परीक्षा लिइएको तर यसलाई धैर्यपूर्वक सामना गरेमा राम्रो खबर पाइने बताएका छन् । 

यो श्रव्य सन्देश बुधवार आईएसको मिडिया विभाग अल–फुरकानले जारी गरेको हो । यो बग्दादीकै आवाज हो भन्ने चाहिँ पुष्टि भइसकेको छैन । 

यूएस सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन विलियम अर्बनले बताए, ‘कमान्डलाई यो कथित श्रव्य सन्देशको जानकारी छ । म अडियोका विषयमा हाम्रो अनुमानका सम्बन्धमा कुनै बयान दिन्नँ । बग्दादी यतिखेर कहाँ छ मलाई थाहा छैन, तर हामी उसलाई युद्धमै मार्न चाहन्छौं ।’

श्रव्य सन्देश बग्दादीकै भएमा अक्टोबर २०१७ मा रक्काको पतनपछि यो उसको पहिलो सन्देश हो । 

सन्देशमा भनिएको छ, ‘एक साँचो मुजाहिद्दीनका लागि जीत वा हार उसको कब्जामा कतिवटा शहर छन्, उससँग कतिवटा अन्तर्महादेशीय क्षेप्यास्त्र छन् वा कतिजना समर्थक छन् भन्ने विषयले निर्धारण गर्दैन । उसलाई अल्लाहमा कति विश्वास छ भन्ने कुरामा यो निर्भर छ ।’

उसले अमेरिका र रुसलाई धम्की दिँदै जिहादीहरूले उनीहरूका लागि भयावह स्थिति ल्याउने तयारी गरेको बतायो । 

रुस र अमेरिकाले आईएसविरुद्ध आक्रमण गरिरहेका छन् । 

आईएस प्रमुख अन्तिमचोटि जुलाई २०१४ मा इराकको दोस्रो ठूलो शहर मोसुलमा सार्वजनिक रूपमा देखिएको थियो । बग्दादीलाई धेरैचोटि मृत घोषणा गरिएको भएपनि एक जासूसी अधिकारीले ऊ जिउँदै रहेको र अहिले पनि
सिरियामा रहेको बताए । 

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्