०९ असार २०८३, मंगलबार

सर्वोच्चले छाडेलगत्तै प्रकाण्ड पुनः पक्राउ

सर्वोच्चले छाडेलगत्तै प्रकाण्ड पुनः पक्राउ

काठमाडौं – सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएलगत्तै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पुनः पक्राउ परेका छन् ।

बिहीवार बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश द्वय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलाशले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो ।

तर, प्रकाण्डविरुद्ध जिल्ला अदालत भोजपुरले वारेन्ट जारी गरेकाले प्रहरीले उनलाई पुनः पक्राउ गरेको हो । सर्वोच्चको आदेशानुसार बिहीवार उनलाई सर्वोच्चमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले नै प्रकाण्डलाई पक्राउ गरेर लगेको हो । 

प्रकाण्डलाई काभ्रेबाटै भोजपुर प्रहरीलाई जिम्मा लगाइ भोजपुर जिल्ला अदालतमा उपस्थित गराइने छ ।

स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बहिष्कार गरेको विप्लव नेतृत्वको नेकपाले ठाउँठाउँमा वम विष्फोट गराएको घटनामा भोजपुर जिल्ला अदालतले ९ पुसमा विप्लवसहित नेकपाका नेताविरुद्ध वारेन्ट जारी गरेको थियो । 

साउन २२ गते प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरो र काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेका प्रकाण्डलाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै भदौ १ गते (शुक्रवार) रिहा गर्न आदेश दिएको थियो । 

सर्वोच्च आदेशानुसार रिहा भएलगत्तै शुक्रवार नै प्रहरीले प्रकाण्डलाई पुनः पक्राउ गरेको थियो । काभ्रे सदरमुकामस्थित क्रसर उद्योगमा आगजनी गरेको भन्दै काभ्रे प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै विप्लव नेतृत्वको नेकपाकै अन्य २ जना कार्यकर्तालाई पनि रिहा गर्न आदेश दिएको छ । 

न्यायाधीशद्वय कार्की र श्रेष्ठको इजलाशले नेकपा दोलखाका कार्यकर्ता लोकेन्द्र दर्नाल (प्रेमस) र राजनप्रसाद लम्साललाई रिहा गर्न आदेश दिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्