१२ असार २०८३, शुक्रबार

मुख्य समाचार : प्रहरीमाथि विश्वासको संकट- गृहमन्त्रीले भनेका दुईजना कहाँ हराए?, हवाई यात्रुको बीमा रकम वृद्धि

मुख्य समाचार : प्रहरीमाथि विश्वासको संकट- गृहमन्त्रीले भनेका दुईजना कहाँ हराए?, हवाई यात्रुको बीमा रकम वृद्धि

काठमाडौं– कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको गत १० साउनमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको थियो । न्यायका लागि चौतर्फी दबाब हुँदा पनि सार्थक अनुसन्धान गर्न नसकेको प्रहरीले घटनाको २५औँ दिनमा गत सोमबार निर्मलाका बाबुआमालाई जिल्ला प्रहरी कार्यालय बोलाएको थियो । 

दोषीका रूपमा प्रहरीले एकजना उभ्याएको थियो र उनीविरुद्ध किटानीजाहेरी दिन अभिभावकलाई दबाब दियो । आफूले नचिनेको र घटनामा उनी संलग्न छन् कि छैनन् भन्ने जानकारीविना केका आधारमा किटानी जाहेरी दिने भन्ने अभिभावकको प्रश्न थियो । तर, प्रहरीले दिलीपसिंह विष्ट नाम गरेको ती युवा नै अपराधी भएको ठोकुवा गर्दै लिखित जाहेरी दिन बाबुआमालाई दबाब दियो । ‘ल ठीक छ त्यो मान्छे को हो ? मलाई एकपटक भेट्न दिनुहोस्, म उसका कुरा सुन्छु र उसले अपराध स्वीकार गर्यो भने किटानी जाहेरी दिन्छु, बाँकी कारबाही तपाईं गर्नुहोला भनेर मैले बिन्ती पनि गरेँ, तर प्रहरी सरहरूले मान्नुभएन । किटानी जाहेरी दिनूस् भनेर एकोहोरो जिद्दी गर्नुभयो,’ निर्मलाका बुबा एकराज पन्तको भनाइ छ । 

आफूले चिन्दै नचिनेको मान्छेको नाममा किटानी जाहेरी दिन नमानेपछि अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले आफूलाई मानसिक यातना दिएको उनको गुनासो छ । प्रहरीले विष्ट दोषी हुन् भन्ने लेख्न लगाएर अनुसन्धानको जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन् जसले कञ्चनपुर तनावग्रस्त छ । 

प्रहरीको अनुसन्धानमा स्थानीयलाई किन विश्वास छैन भने आरोपी विष्ट मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् । बाटोमा निर्मलाको साइकल बिग्रिएको र बनाइदिने भन्दै दिलीपले उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

तर, मानसिक सन्तुलन बिग्रिएका युवाले भन्दैमा निर्मला पछिपछि गइन् होला भन्नेमा स्थानीयलाई विश्वास छैन । त्यस्तै, आफैँ पनि शारीरिक रूपमा जीर्ण देखिने दिलीपले निर्मलालाई एक्लै उखुबारीमा लगेर बलात्कार गर्न सके भन्ने दाबी पनि भरपर्दो मानिएको छैन । तीन सातापछि प्रहरीले घटनास्थलबाट एउटा कन्डम र एउटा खल्तीको टुक्रा बरामद गरेको दाबी गरेको छ । बलात्कार र हत्या गर्ने कुनै पनि पुरुष कन्डम बोकेर हिँड्छ भन्नेमा पनि शंका छ ।

त्यस्तै, अहिले भेटेको खल्तीको टुक्रामा कहीँकतै धुलो नलागेकाले प्रहरीले भर्खरै आफैँ फालेर नक्कली प्रमाणका रूपमा प्रस्तुत गर्न खोजेको स्थानीयको दाबी छ । तर, अहिले आएर अनेक प्रमाण जुटाउन खोज्ने प्रहरीले घटनाको दिन भने पर्याप्त संवेदनशीलता नदेखाएकोमा पनि स्थानीय आक्रोशित छन् । बालिका हराएकै दिन अभिभावक प्रहरी चौकीमा गएका थिए, तर प्रहरीले भोलि खोजौँला भनेर रिपोर्ट पनि लिन मानेन ।

भोलिपल्ट स्थानीयले निर्मलाको साइकल भेटे, वरपर खोज्दा निर्मलाको शव फेला पर्यो । तर, नगरपालिकाका मेयर पनि उपस्थित हुनुपर्ने माग भएपछि प्रहरीले शव नै छाडेर हिँडेको थियो । स्थानीय अगुवाले सिडिओलाई सीधै फोन गरेपछि मात्र फर्किएको प्रहरीले शव लिएर गएको थियो ।

दिलीप विष्ट पक्राउ पर्नु १८ दिनअघि १७ साउनमा संसद्मा उभिएर गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारमा संलग्न दुईजनालाई पक्राउ गरिएको दाबी गरेका थिए । तर, ती दुईजना को हुन् र कहाँ छन् भन्ने अहिलेसम्म जानकारी छैन । एउटी बालिकाको बलात्कार र हत्याको विषयमा संसद्लाई दिएको विवरण किन सत्य साबित हुन सकेन भन्ने विषयमा बुझ्न गृहमन्त्रीले समेत आवश्यक ठानेका छैनन् ।

निरु पाल धम्की प्रकरण–१५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा सांसद निरुदेवी पाललाई एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भयो । तेस्रो दिन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन टोली पनि गठन भयो । छानबिनको २० दिन बितिसक्दा पनि समितिले कुनै तथ्य सार्वजनिक गर्न सकेको छैन । 

नक्कली मुठभेडबाट अनुसन्धान समाप्त– २० साउनमा काँडाघारीबाट ११ वर्षीय निशान खड्का अपहरणमा परे । २१ साउन बिहान ११ बजे उनको शव मध्यपुर ठिमी–७ बगदेश्वरस्थित एउटा बन्दै गरेको घरको पछाडि खाडलमा पुरिएको अवस्थामा भेटियो । अपहरणमा संलग्न गोपाल तामाङ र अजय तामाङको दिउँसो १ बजे भक्तपुरको पाइलट बाबा जंगलमा इन्काउन्टरमा मारिएको प्रहरीको विज्ञप्ति आयो । तर, स्थानीयले त्यसमाथि विश्वास गरेनन् ।

स्थानीयबासीहरूका अनुसार बिहान ११ बजे प्रहरीले अपहरणमा संलग्न गोपाल र अजयलाई डेराबाटै पक्राउ गरेर लगेको थियो । उनीहरूकै बयानका आधारमा बालक निशानको शव फेला पारेको थियो । तर, दुई घन्टापछि घटनास्थलभन्दा ११ किलोमिटर पूर्व पाइलटबाबा जंगलमा उनीहरू मुठभेडमा मारिएको प्रहरीले सार्वजनिक गर्यो ।, नयाँ पत्रिकामा खबर छ ।

भीमदत्तनगर दिनभर अशान्त
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनले भीमदत्तनगर बिहीबार दिनभर अशान्त बन्यो । ट्राफिक चोकमा प्रहरी र आन्दोलनकारी बीचको दोहोरो झडपमा परी दुवैतर्फ घाइते भए । प्रहरीतर्फ नौ जना घाइते भएका छन् भने आन्दोलनकारीतर्फ छ जना घाइते भएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ५६४ राउण्ड अश्रग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । प्रहरीको गोली र छर्रा लागी घाइते भएका आन्दोलनकारीको उपचार महाकाली अञ्चल अस्पतालमा भइरहेको छ ।
    
जिल्ला प्रहरी कार्यालय क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झण्डै डेढ घण्टा ढुङ्गामुढा भएको थियो । आन्दोलनले उग्ररुप लिन थालेपछि बिहीबार बेलुकी ५ बजेदेखि १२ घण्टा भीमदत्तनगर क्षेत्रमा कफ्र्यु लगाउनु पर्यो । शुक्रबार बिहान ५ बजेदेखि कर्फ्यू हटेको छ । अहिले वातावरण शान्त छ ।

घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । मानसिक अवस्था कमजोर भएका विष्टलाई हत्यारा भनी सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको हो । 

कञ्चनपुर घटनाका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन
गृह मन्त्रालयले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । 

पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक वसन्त बानियाँ र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विरेन्द्र केसी रहेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको मन्त्रालयले जनाएको छ । 
    
गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरेको छ । कञ्चनपुरमा नयाँ प्रजिअको रुपमा सहसचिव तारानाथ अधिकारीलाई पठाइएको छ । गृह मन्त्रालयको विज्ञप्तिमा कञ्चनपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकलाई तत्काल फिर्ता बोलाई उनीहरुको स्थानमा नयाँ पदाधिकारीसमेत खटाइसकिएको जनाएको छ । 

प्रधानन्यायाधीशमा मिश्र सिफारिश
संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले सो  सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए । 

तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आएका छन् । परिषद्ले गरेको सिफारिशका आधारमा सुनुवाइ समितिले अनुमोदन गर्नुपर्नेछ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिसमक्ष नियुक्तिका लागि पठाइनेछ । 

मन्ट्रियल महासन्धि अनुमोदन : यात्रुको बीमा बढ्ने
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा  छ गुणाले वृद्धि हुने भएको छ । ‘अन्तर्राष्ट्रिय हवाई परिवहन’ विषयक नियम एकीकरण गर्ने मन्ट्रियल महासन्धि अनुमोदन भएसँगै बीमा रकम वृद्धिका लागि मार्ग प्रशस्त भएको हो । 

प्रतिनिधिसभाको बैठकले उक्त महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरेको छ । उक्त महासन्धिका प्रावधानले मुलुकलाई फाइदा हुने र अन्तर्राष्ट्रिय उडानका क्रममा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम समान हुनेछ । 

हवाई उड्डयनका माध्यमबाट हुने परिवहनबाट सिर्जित जोखिमबाट यात्रुलाई सुरक्षित गर्न महासन्धिका प्रावधान महत्वपूर्ण रहेका छन् । महासन्धिअनुसार अब हवाई यात्रुको बीमाबापत रु एक करोड २४ लाख ४१ हजार प्राप्त गर्नेछन् । 

सीबीटी परीक्षा आजदेखि
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी फर्केका नेपालीलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा विशेष परीक्षा (सिबिटी) शुक्रबारदेखि शुरु हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

दोस्रो चरणको भाषा परीक्षामा करीब तीन हजार २०० परीक्षार्थी सहभागी हुने उनले बताए । कम्प्युटरबाट परीक्षा लिइने भएकाले उक्त परीक्षा करीब एक महिनासम्म चल्नेछ । 

यसैबीच, सन् २०१८ भाषा परीक्षा उतीर्ण भई स्वास्थ्य परीक्षण सम्पन्न गराएका उम्मेदवारले शुक्रबारदेखि रोजगार आवदेन फारम भर्ने कार्य शुरु हुने शाखाले जनाएको छ । सात हजार ९९८ जनाले सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरेका थिए । दिनको एक हजारको दरले एक सातासम्म रोजगार आवेदन फारम भर्ने व्यवस्था मिलाइएको छ । 

ट्रमाडोल सिफारिश विना बिक्री गर्न नपाइने
औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिश विना बिक्री वितरणमा रोक लगाउने भएको छ । सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ । 

केही मुलुकमा बिक्रीवितरणमा रोक लगाइएको सो औषधिलाई नेपालमा अन्यत्र पनि प्रयोग हुन थालेपछि विभागले यही भदौ १५ गतेदेखि चिकित्सकको सिफारिश विना बिक्रीवितरणमा रोक लगाउन लागेको हो । औषधि पसल बाहेक अन्य खुद्रा पसलमा बिक्री वितरण गर्न बाँकी रहेका ती औषधि थोक बिक्रेतालाई फिर्ता गर्न विभागले आग्रह गरेको छ । 

नेकपा प्रवक्ता प्रकाण्ड पुनःपक्राउ
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता  खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनःपक्राउ गरेको छ । सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उनलाई बिहीबार पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । 

यसअघि साउन २३ गते चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । तर प्रहरीले काभ्रेमा भएको आगजनीको मुद्दामा पुनः पक्राउ गरेको थियो । 

तेक्वान्दोमा नेपाल पदकविहीन
एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपाल पदकविहीन भएको छ । नेपालले एसियाडमा भाग लिएदेखि हालसम्म एक रजत र १३ कांस्य गरी १४ पदक जितेको छ ।

तेक्वान्दोको अन्तिम दिन बिहीबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले पहिलो चरणमा भुटानका जिग्मे वाङछुकलाई ३९–१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए । प्रिक्वाटरफाइनलमा ज्ञानेन्द्र मलेसियाका रोजाइमी रोजालीसँग ३०–२ को फराकिलो अन्तरले पराजित भए ।

अर्की खेलाडी अस्मिता खड्का महिला ४९ केजीमुनि इरानकी नाहिद कियानीचान्देहसँग ४३–४ को  अन्तरले हारिन् । योसँगै तेक्वान्दोको खेल समाप्त भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्