
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्र भित्र भवन निर्माण गर्न नयाँ मापदण्ड तयार गरेको छ । भित्रि शहरका लागि तय गरिएको मापदण्डमा भवनको उचाइ, तला र बेसमेन्ट सम्बन्धी नयाँ प्रावधानको व्यवस्था गरिएको छ ।
महानगरपालिकाले भवन निर्माण मापदण्ड–२०७५ स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको हो । बढ्दो शहरीकरण तथा जनघनत्वलाई ध्यान दिई उचाइ, तला र बेसमेन्टलगायतका विषयलाई संशोधन गरिएको महानगरपालिकाले जानकारी दिएको छ । बेसमेन्टसहितको नक्सापासको हकमा पुरानो सहरी क्षेत्र (वसन्तपुर दरवार क्षेत्र आसपास) जमिनमुनि एक तलामात्र बेसमेन्ट र अन्य क्षेत्रको हकमा जमिनमुनि दुई तलासम्म बेसमेन्ट निर्माण गर्न पाइने व्यवस्था गरिएको छ ।
दुई तल्लासम्मको बेसमेन्ट निर्माण गर्ने भएमा सँधियारतर्फको सेटब्याक कम्तीमा तीन मिटर छोड्नु पर्ने व्यवस्था समेत गरिएको छ । संशोधित मापदण्डमा पुरानो सहरी क्षेत्र अन्तर्गत संरक्षित स्मारक उपक्षेत्रभित्र प्राविधिक समितिको सिफारिसमा एक तलामात्र बेसमेन्ट बनाउन पाइनेछ । यस क्षेत्रमा अन्य व्यवस्थाको हकमा भवन निर्माण मापदण्ड २०६४ अनुसार हुने उल्लेख छ ।
त्यसैगरी, संरक्षित उपक्षेत्रमा व्यक्तिगत पार्किङ, निर्माण सामग्री भण्डारण गर्न र भूकम्प प्रतिरोधी जग निर्माण गर्न एक तलामात्र बेसमेन्ट राख्ने नयाँ नियम लागू गरिएको छ । संरक्षित उपक्षेत्रमा फ्लोर एरिया अनुपात ‘फार’ (जग्गाको अनुपातअनुसार भवनको उचाई)को व्यवस्था नराखी अधिकतम सात तला र अधिकतम उचाइ ६५ फिटसम्म जान पाउने व्यवस्था गरिएको छ ।
मिश्रित पुरानो बसोबास क्षेत्रमा सोही अनुसार बेसमेन्टसहित अधिकतम आठ तला र उचाइ ७५ फिटसम्म भवन निर्माण गर्न पाउने व्यवस्था गरिएको छ । वरिपरिका घर, स्मारक, धाराको मुहान आदिलाई प्रतिकूल असर नपर्ने गरी प्राविधिक समितिको सिफारिसमा बेसमेन्ट वा सेमिबेसमेन्ट निर्माण गर्न सकिने प्रावधान पनि नयाँ मापदण्डमा छ ।
यसअघि भवन निर्माण मापदण्ड २०६४ अनुसार चार तल्लासहित अधिकतम् उचाइ ३५ फिटदेखि ४५ फिट र ‘फार’ ३ देखि ३ दशमलब ५ फिट सहितको भवन स्वीकृत हुने गरेको थियो ।
पुरानो सहरी क्षेत्रभित्र सडक वा चोकतर्फ सेटब्याक नछाडी निर्माण कार्य गरेमा प्लिन्थ लेबल (डीपीसी)सम्मको उचाइ बढीमा एक फिटसम्म निर्माण गर्न सकिनेछ । तर सडक वा चोकतर्फ कुनै पनि किसिमको खुड्किला निर्माण गर्न नपाइने उल्लेख गरिएको छ ।
पुरातात्विक क्षेत्रमा बन्ने भवन निर्माणसम्बन्धी मापदण्ड २०६४, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ को उपदफा (४) र (५) ले दिएको अधिकार र बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड–२०७२ को बुँदा १७ (क)को व्यवस्थाअनुसार नयाँ मापदण्ड लागू भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।, गोरखापत्रमा खबर छ ।