
काठमाडौं–कञ्चनपुरमा जारी आन्दोलनमा घुसपैठ भएको सरकारले ठहर गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाप्रति सरकारको चासो र चिन्ता रहेकै बेला परिस्थितिलाई उत्तेजक बनाउन केहि घुपैठिया वा अरु तत्वहरु लागि परेको निश्कर्ष निकालेको हो ।
मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले भने, ‘घटनाप्रति सरकार गम्भीर भएर त्यसप्रति चिन्ता र चासो समेत व्यक्त गरेर अपराधीहरुलाई कारबाही गर्न सरकार लागि रहेकै बेलामा केही घुपैठिया वा अरु तत्वहरुले परिस्थितिलाई उत्तेजक बनाउन गरेको घटनाप्रति सरकार दुखी छ।’
उनले निर्मला पन्त बलात्कार प्रकरणको छानबिन गर्न समिति बनाइसकेको जानकारी दिँदै कञ्चनपुरमा मात्रै नभएर देशैभरी हुने यसप्रकारको जघन्य अपराधप्रति सरकार गम्भीर रहेको बताए ।
घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाइसकेको भन्दै उनले कञ्चनपुरका आम जनसमूदायलाई थप उत्तेजक गतिविधिमा नलाग्न पनि आग्रह गरे ।
‘सरकारको कारणले यो घटना भएको होइन । सरकारले आफ्नो चिन्ता र जिम्मेवारी बोध गरेर छानबिन प्रक्रिया अघि बढाइसकेको अवस्थामा त्यसलाई उत्तेजक बनाउन केही मान्छेहरु सक्रिय भएका छन् , त्यस विषयमा पनि अनु्सन्धान गर्न प्रशासनलाई निर्देशन दिएका छौं । हामी दोषीलाई कहीँ गएपनि छाड्दैनौं ।’ बैठकपछि बास्कोटाले भने ।
सरकारले कञ्चनपुरको आन्दोलनमा बालकालिकालाई स्वार्थ पूरा गर्नको लागि प्रयोग गरिएकाे भन्दै आपत्ति समेत जनाएको छ ।
यसैबीच सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नेकपाका सांसद सोमप्रसाद पाण्डे संयोजक रहेको वार्ता टोली बनाएको बास्कोटाले जानकारी दिए । टोलीमा सुरेश आले मगर, ताराकान्त चौधरी, लिला भण्डारी र गृह मन्त्रालयले तोकेको सहसचिव सदस्य रहने बास्कोटाले जानकारी दिए ।