
काठमाडौं–कञ्चनपुरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि भीमदत्तनगर क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाएको जानकारी दिए ।
शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ भने गोली लागेर घाइते भएका पाँच जनालाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ ।
बालिका निर्मलाको गत साउन १० गते हत्या भएको थियो । उनको शव साउन ११ गते उखुबारीमा भेटिएयता कञ्चनपुरको भीमदत्तनगरमा चरणबद्ध आन्दोलन हँुदै आएको छ ।
छानबिन समितिले काम थाल्यो
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गृहमन्त्रालयबाट बिहीबार गठन भएको उच्चस्तरीय छानबिन समितिले छानबिन थालेको छ । भीमदत्तनगर पुगेको गृहमन्त्रालयको टोलीले बालिका हत्या घटनाबारे प्रारम्भिक चरणको छानबिन थालेको छानबिन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले जानकारी दिए ।
समितिलाई बालिका पन्त हत्यासम्बन्धी विस्तृत छानबिन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्ने र घटनालाई लिएर भएका विरोध प्रर्दशनमा भएको क्षति तथा स्थानीय प्रशासनले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गरी कमीकमजोरी पहिचान गर्ने र सुधारका उपायसमेत सिफारिश गर्ने जिम्मेवारी दिइएको छ ।
मन्त्रिपरिषद् बैठक
सरकारले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अन्तरिम संविधानबमोजिम गठित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट छुटपुट भएका विषयलाई निरन्तरता दिन र विगतमा सहमति–सम्झौता कार्यान्वयनका निम्ति सुझावसहितको प्रतिवेदन पेश गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको हो ।
त्यसैगरी बैठकले सुरक्षित आप्रवासन परियोजना कार्यान्वयन गर्न स्विस सरकारबाट रु दुई अर्ब अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रबीच प्रविधि हस्तान्तरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई दिने निर्णय बैठकले गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा भएको घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन भइसकेको अवस्थामा केही तत्वले परिस्थितिलाई उत्तेजक बनाउन खोजेकोमा खेद व्यक्त गर्दै सरकारले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त घटनाप्रति सरकार संवेदनशील रहेको र दोषीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ ।
महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्ताव पारित
प्रतिनिधिसभाको बैठकले महिला हिंसा विरुद्धको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । ‘नेपालको संविधानबमोजिम नेपाल पक्ष राष्ट्र भएका महिलामाथि हुने सबै प्रकारका विभेदविरुद्धको महासन्धिलगायत अन्तर्राष्ट्रिय अभिसन्धिले शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक एवं अन्य कुनै किसिमको हिंसाजन्यकार्य वा शोषणलाई दण्डनीय भनेकाले महिलामाथि हुने जघन्य अपराध (हत्या, बलात्कार, बोक्सी, आरोपमा उत्पीडन, छाउपडी, यौनजन्य हिंसा, घरेलु हिंसा, दाइजोको निहुँमा हुने कुटपिट) बाट पीडितलाई उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुका साथै त्रुटिपूर्ण सामाजिक मूल्य मान्यता, प्रथा परम्परा, अन्धविश्वास, शोषणविरुद्ध व्यापक जनचेतना अभियान चलाइ सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस्’ भन्ने सङ्कल्प प्रस्ताव प्रस्तुत भएको थियो ।
विश्वकर्मालाई तीन दिन थुनामा राख्न म्याद थप
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो ।
विहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएसँगै उनलाई गिरफ्तार गरिएको थियो । गत साउन ७ गते राति बेलकोटगढी नपा–९ भट्टथोकमा दुई स्काभेटर जलाइएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए ।
यसैबचि, विश्वकर्माले सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् । विश्वकर्माका तर्फबाट उनका भाइ वीरेन्द्रदेवले निवेदन दायर गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।
काङ्ग्रेस केन्द्रीय समिति बैठक आज
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने भएको छ । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरूबीच शुक्रबार दिनभरको छलफल र सहमतिपछि बैठक शनिबार बिहान ११ बजे बस्ने तय भएको हो ।
पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्षनेताहरूबीच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएपछि बैठक आजका लागि तय भएको हो । विशेषगरी महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा नेताहरूबीच छलफल भएको छ । धेरै विषयमा सहमति भए पनि केही विषयमा टुङ्गो लाग्न बाँकी रहेको कांग्रेस स्रोतले जनाएको छ ।
बिमिस्टेक तयारी
बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ १४ र १५ गते शान्त, सम्बृद्ध र दीगोपनाका लागि बंगालको खाडीतर्फ भन्ने मूल नाराका साथ काठमाडौंमा हुन लागेको बिमिस्टेकको आन्तरिक र बाह्य तयारी अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सम्मेलनमा बिमिस्टेक क्षेत्रका ७ वटै देशका राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखको उपस्थिति रहने छ । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानन्याशीस योङ ओ छिरिङ वाङ्चो, म्यानमारका राष्ट्रपति युमिन मिच, श्रीलङ्कन राष्ट्रपति मेट्रीपाला श्रीसेना र थाइल्याण्डका प्रधानमन्त्री सहभागी हुने शुक्रबार भएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।
परराष्ट्रमन्त्री ज्ञावलीका अनुसार कनेक्टीभिटि, गरिबि निवारण, व्यापार र लगानी, जलविद्युत र जलवायु परिवर्तन सम्बन्धी ऐजेन्डामा पनि छलफल हुने छ । सम्मेलनको अवसरमा भारत र नेपालबीच पनि छुट्टै दुई सम्झौता हुने भएका छन् । रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षरको तयारी भएको छ ।
यसैबीच, सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सदस्य देशका समसामयिक विषयवस्तुलाई उपयुक्त ढंगले सम्बोधन गर्न सहयोगी हुने विश्वास व्यक्त गरेको छ ।
सरकारले बिम्स्टेकलाई दक्षिण र दक्षिणपूर्वी एशियासँग जोड्ने गतिशील संगठनका रूपमा विकास गर्नु नै बिम्स्टेक क्षेत्रका जनताको हितमा हुने जनाएको छ । दक्षिण एशियाली अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको ‘दक्षिण र दक्षिणपूर्वी एशिया जोड्ने बिम्स्टेक’ विषयक छलफल कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेकलाई कार्यान्वयन गर्न सकिने संस्थाका रूपमा विकास गर्न सबै सदस्य देशको एकीकृत प्रयास हुनुपर्नेमा जोड दिए ।
एयरपोर्टबाट फर्काइयो पूर्व लडाकु बिष्टलाई
पूर्व माओवादी लडाकु लेनिन बिष्टलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । बैंककमा हुन लागेका एक कार्यक्रममा सहभागी हुन जानबाट विष्टलाई रोकिएको हो । नेपाल एयरलाइन्सको शुक्रबार बिहान ९ बजेर ५० मिनेटको उडानबाट बैंकक जान लागेका विष्टलाई भ्रमण अनुमति नभएको भन्दै विमानस्थलस्थित अध्यागमनबाट फर्काइएको हो ।
विष्टले आफुलाई के कारणले यात्रा अनुमतिको नभएको भन्ने सम्बन्धमा लिखित चाहिने अडान राखेपछि विमानस्थल अध्यगमन कार्यालयले यात्रा अनुमति नभएको पत्र दिएको छ ।
नेपालको लगातार दोस्रो जित
एशियाकप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार ब्लुमफिल्ड क्लबसँग भएको दोस्रो खेलमा नेपाल १७६ रनले विजयी बन्यो ।
३२४ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा ब्लुमफिल्डले ३८ ओभरमा नौ विकेट गुमाउँदै १३४ रन बनाएपछि प्रकाशमा समस्या आएपछि खेल रोकिएको थियो । त्यसपछि खेल हुन सकेन र नेपालले डक वर्थ लुईस नियमको आधारमा १७६ रनले विजयी बन्यो ।
नेपालका सागर पुनले तीन, ललित भण्डारीले दुई तथा वसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान एक÷एक विकेट लिन सफल भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार परेको थियो ।
नेपालले पहिलो अभ्यास खेलमा श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबलाई बुधबार ६७ रनले हराएको थियो । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्स क्लबसँग यसकै घरेलु मैदानमा आगामी आइतबार खेल्नेछ ।