काठमाडौं, ९ फागुन — साउदी अरबका विदेशमन्त्रीले इरानलाई आतंकवादको सबभन्दा ठूलो लगानीकर्ता भनेपनि उनको आफ्नै देशले अतिवादी सुन्नी समूहलाई पैसा पेल्ने गरेको छ । अनि साउदी अत्यन्तै कठोर र कट्टर देश हो ।
अघिल्लो वर्ष साउदीमाथि बनेको एक गोप्य डकुमेन्ट्रीमा यसको झलक देखिएको थियो । 'साउदी अरेबिया अनकभर्ड' नामक यो डक्युमेन्ट्रीमा त्यहाँ हुने सार्वजनिक मृत्युदण्ड पनि देखाइएको थियो । चप चप स्क्वेयर नामक स्थानमा अपराधीहरूलाई टाउको काटेर क्रेनबाट लाश झुण्ड्याउने गरिन्छ ।
ब्रोडकास्ट सर्भिस आईटिभीमा गोप्य तरिकाले खिचिएको यो डक्युमेन्ट्री देखाइएको थियो । साउदीमा लोकतन्त्र अभियन्ताको मद्दत लिएर ६ महिनासम्म यहाँका बर्बर घटनाहरूको शूटिङ गरिएको थियो ।
यसमा लुटपिट गर्ने पाँच अपराधीको टाउको काटेर उनीहरूलाई सार्वजनिक रूपमा क्रेनमा झुण्ड्याइएको थियो । धेरै दिनसम्म लाश यसरी नै झुण्ड्याइने गरिन्छ ।
आफ्नी सौतेनी नातिनीलाई मार्ने दोषी पाइएकी एक महिलाको टाउको पनि सार्वजनिक रूपमा काटिन्छ । महिलाले आफू निर्दोष भएको बताइरहे पनि उनलाई काटिन्छ ।
डक्युमेन्ट्रीमा राजधानी रियादको चप चप स्क्वेयर पनि देखाइएको छ । शिर काटेर (चप गरेर) सजाय दिइने भएको ठाउँ भएकाले यसको नाम त्यस्तो राखिएको हो ।
टन्न तेल भएको देशमा अथाह सम्पत्तिका अलावा गरीबी पनि छ ।
अत्यन्तै कडा कानूनका लागि साउदी बदनाम छ । सानो अपराधमा पनि लामो कारावास, ढुंगा हानेर मार्ने र शिर काट्ने सजाय दिइन्छ ।
स्वतन्त्र टेलिभिजन प्रोडक्सन कम्पनी हार्डक्याश प्रोडक्सन्सले यो डक्युमेन्ट्री बनाएको हो ।