१० असार २०८३, बुधबार

मुख्य समाचार : निर्मला र सनीको परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय, डुंगा दुर्घटनामा तीन जना अझै बेपत्ता

मुख्य समाचार : निर्मला र सनीको परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय, डुंगा दुर्घटनामा तीन जना अझै बेपत्ता

काठमाडौं- सरकारले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति भत्र्सना गर्दै पन्तको परिवारलाई उक्त आर्थिक सहायता दिने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

गत साउन ११ गते भगतपुरस्थित साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्तनगर नगरपालिका वडा नं २ निवासी कक्षा ९ मा अध्ययनरत पन्तको शव स्थानीय उखुबारीमा भेटिएको थियो । 

यस्तै बैठकले पन्तको घटनालाई लिएर यही भदौ ८ गते कञ्चनपुरमा भएको प्रदर्शन र झडपका क्रममा मृत्यु भएका १४ वर्षीय शनि खुनालाई शहीद घोषणा गरी राहतस्वरुप रु १० लाख सहायता दिने निर्णय गरेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए । 

घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले निःशुल्क उपचार गर्ने र घाइतेमध्ये अङ्गभङ्ग भएकालाई आर्थिक सहायता उपलब्ध गराउनेछ । 

प्रहरी उपरीक्षक विष्ट निलम्बनमा 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बनमा परेका छन् । गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले निर्मला पन्त हत्याकाण्डपछि प्रहरी प्रधान कार्यालय बोलाइएका विष्टलाई घटना अनुसन्धान अवधिभर निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।  

पन्तको हत्यारा पक्राउको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कञ्चनपुरका नागरिकमाथि दमन गरेको भन्दै सरकारले केही दिन अगाडि प्रहरी उपरीक्षक विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई कञ्चनपुरबाट सरुवा गरेको थियो । 

कञ्चनपुर घटनामा संयमित हुन आग्रह
प्रदेश नं ७ को सरकारले कञ्चनपुरमा भएको घटनामा सम्बद्ध सबै पक्षलाई संयमित भई शान्ति सुव्यवस्था कायम राख्न र घटनाको अनुसन्धान कार्यमा सहयोग पु¥याउन आग्रह गरेको छ । कञ्चनपुर जिल्ला केही दिनयता अशान्त बनेको सन्दर्भमा प्रदेश सरकार मन्त्रिपरिषद्को शनिबारको आकस्मिक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कञ्चनपुरमा उत्पन्न परिस्थितिमा संयमित भई शान्ति सुव्यवस्था एवं अमनचयन कायम राखी थप जनधनको क्षति हुनबाट रोक्न सहयोग पु¥याउन आग्रह गरेका हुन् । 

सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा भीमदत्तनगर नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धी अनुसन्धानको विषयलाई लिएर शुक्रबार भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 

यसैबीच, कर्णाली प्रदेश सरकारले आफ्ना कामकारबाही कागजरहित बनाएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको काम कारबाहीलाई शीघ्र, व्यवस्थित, पारदर्शी र कम खर्चिलो बनाउन कागजरहित प्रणाली शुरु गरिएको बताए । 

प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कसैको नाम नलिई शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिनु भएको हो । 

यसैबीच नेकपा सचिवालयको आकस्मिक बैठकले पनि कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । सचिवालयको बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र सामाजिक रुपमा विकृति फैलाउन खोज्ने प्रवृत्तिको सूक्ष्म छानबिन गरी कारवाही गर्न सरकारसँग माग गरेको हो । 

रौतहटमा डुंगा डुब्यो, तीन जना अझै बेपत्ता
रौतहटको लाबकैया नदीमा डुंगा दुर्घटनामा परेका मध्ये अझै तीन जना बेपत्ता छन् । दुर्घटनामा परेका २५ जना मध्ये २२ जनाको उद्धार गरिएको रौतहट प्रहरीले जनाएको छ । 

स्थानीय बन्जरा घाटबाट गौर नगरपालिका वडा नम्बर ४ स्थित तिकुलिया घाटतर्फ यात्रु बोकेर आउँदै गरेको डुंगा शनिबार दुर्घटना भएको हो । साँझ साढे ७ बजेतिर सो घटना भएको हो ।  अहिले प्रहरीले वेपत्ता भएकाहरुको उद्दार कार्य जारी राखेको छ । घटनास्थलमा प्रहरीका साथै नेपाली सेना र स्थानीय उद्दारमा खटिएका छन् । 

कांग्रेस महासमिति बैठक मङ्सिरमा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भएको छ ।     पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको कांग्रेसले जनाएको छ ।

बैठकले पार्टी सभापति देउवाको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य रहने गरी महासमिति बैठकको मूल तयारी समितिसमेत गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

कमजोरी देखाएर सम्बन्ध विच्छेद गर्न नपाइने 
प्रजनन स्वास्थ्यको कमजोरी देखाएर श्रीमान श्रीमतीमध्ये कसैले पनि एक अर्कालाई घरबाट निकाल्न, विस्थापित गर्न र सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकमा भनिएको छ ।

विधेयकमा सम्बन्ध विच्छेद, घरबाट निकाला, विस्थापन गरेमा एक वर्षसम्म कैद र रु एकलाख जरिवानाको प्रावधान मस्यौदा गरेको छ । विधेयकमा आफ्नो स्वास्थ्य संस्थामा आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा प्रदान गर्न सम्भव हुँदाहुँदै, जानीजानी अर्काे स्वास्थ्य सस्थामा पठाउने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने व्यवस्था गरेको छ । यसरी अर्काे स्वास्थ्य संस्थामा पठाउने गरेमा ६ महिनासम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ । 

छाउगोठमै बस्न बाध्य
कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । छाउपडी उन्मूलनका क्षेत्रको काम गर्दै आएको एक संस्थाको तथ्याङ्कअनुसार छुईअर्थात् महिनावारी भएका ७७ प्रतिशत किशोरीले छाउगोठमा बस्ने गरेका छन्् । 

कर्णालीमा महिनावारी भएकै कारण २८ प्रतिशत किशोरीले विद्यालय छोड्ने गरेको एक्सनबक्र्स नेपाल संस्थाले अध्ययन गरी सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  छाउपडी सामाजिक कुसंस्कार हो भन्ने जान्दाजान्दै पनि विद्यालय उमेरकै ७७ प्रतिशत किशोरी छाउगोठमै बस्न बाध्य भएको संस्थाका कार्यक्रम संयोजक सोमराज जिसीले जानकारी दिए ।

गाईजात्रा फुटबल हुने
ललितपुरको गोदावरीमा १५ औं संस्करणको दिनेश स्मृति कप गाईजात्रा फुटबल प्रतियोगिता हुने भएको छ । नमुना खेलकुद क्लबको आयोजनामा यही भदौ ११ गते गाईजात्राको दिन प्रतियोगिता हुने भएको हो ।

गाईजात्राको दिन मात्रै आयोजना हुने यस प्रतियोगिता बिहान ७ बजे शुरु भइ बेलुका समापन हुने आयोजक नमुना खेलकुद क्लबले जानकारी गराएको छ । 

salt training

कमेन्ट गर्नुहोस्