
काठमाडौं, ९ फागुन –ढुवानी व्यवसायीका कारण प्रभावित भएको पेट्रालियम वितरण प्रणाली सोमवारसम्म प्रभावित भएको छ ।
आजपनि उपत्यकाका अधिकांश पम्पमा उपभोक्ताले पेट्रोलियम पाउन सकेका छैनन् । नेपाल आयल निगमले भने मागको दोब्बर परिमाणमा पेट्रोलियम पदार्थ बजारमा पठाएको दावी गरेको छ ।
‘झण्डै साढे ८ लाख÷साढे ८ लाख लिटर पेट्रोल र डिजेल बजारमा पठाएका छौं,’ निगमका प्रवक्ता भानु खनालले लोकान्तरसँग भने । उनले पम्पहरुमा देखिएको पेट्रोलियम पदार्थ भर्नेको लाइन कम भएको दाबी गरे ।
निगमका अनुसार हाल उपत्यकामा पेट्रोलको नियमित माग साढे ४ लाख लिटर र डिजेलको करीव ६ लाख लिटर छ । ‘ढुवानी व्यवसायले आपूर्ति प्रभावित गरेपछि आईतवार झण्डै दोब्बर परिमाणको पेट्रोल र डिजेल बजारमा पठाएका थियौं,’ निगमका प्रवक्ता खनालले भने, ‘सोमवार पनि सोही परिमाणको पेट्रोलियम बजारमा पठाइएको छ ।’
ढुवानी मजदूरको हड्तालका कारण आपूर्ति प्रभावित हुँदा आईतवारदेखि उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको हो । नेपाल आयल निगमले लागू गरेको पेट्रोलियम ढुवानी नियमावलीप्रति विरोध जनाउँदै ढुवानी मजदूर र चालक आन्दोलित भएका हुन् ।