
काठमाडौं– साउदीमा अलपत्र परेका ३८ जना नेपाली पुरानै काममा फर्किने भएका छन् ।
वैदेशिक रोजगार विभागमा अलपत्र नेपालीका आफन्त र उनीहरुलाई विदेश पठाउने म्यानपवार कम्पनीबीच विभागले गराएको पटक पटकको छलफलबाट उनीहरुलाई साउदीमै काममा लगाउने सहमति भएको हो ।
इम्पावर ओभरसिज प्रा.लि. र तीनजुरे इम्प्लोइमेन्ट सर्भिस प्राली नामको म्यानपावर कम्पनीमार्फत साउदी गएका ३८ जना नेपाली कामको ज्याला माग्दा कम्पनीबाट निकालिएपछि अलपत्र थिए ।
गत साउन ३ गते आफ्ना आफन्तलाई झिकाइदिन माग गर्दै अलपत्र नेपालीका आफन्तहरुले विभागमा उजुरी दिएका थिए ।
श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विभागका महानिर्देकशलाई मन्त्रालयमै बोलाएर अलपत्र नेपालीको समस्या समाधानका लागि तत्काल पहल गर्न निर्देशन समेत दिएका थिए ।
मन्त्री विष्टको निर्देशन पछि विभागले म्यानपवार कम्पनीको कारोवार रोक्का गरेर पटक पटक दुईपक्षिय छलफल गराएको थियो ।
पटकपटकको छलफल पछि अलपत्र नेपालीलाई अहिलेसम्मको पारिश्रमिक सहित पुरानै काममा फर्काउने सहमति भएको विभागका महानिर्देशक दिलिप कुमार चापागाईँले लोकान्तरलाई बताए ।
उनले भने, ‘विभागमा पटकपटक छलफल भयो, तत्काल रेस्क्यु सम्भव नभएकोले अहिलेसम्मको पारिश्रमिक उपलब्ध गराउनु पर्ने सर्त सहित पुरानै काममा फर्काउने सहमति गराएका छौं ।’
विभागमा भएको सहमति अनुसार उनीहरुले मासिक एक हजार साउदी रियल सहित यातायात, बासस्थान सुविधा सहित खाना आफैले बनाउनुपर्ने सर्तमा दैनिक दुई सय साउदी रियल पाउने छन् ।
काममा लागेको ४५ दिन भित्रमा बिमाको सम्र्पूण व्यवस्था मिलाइसक्नुपर्ने र भिष अवधि सकिएपछि नेपला फर्कदा हवाइ टिकट समेत कम्पनीले व्यवस्था गर्नुपर्ने सहमति गरिएको छ ।
विभागमा भएको सहमति अनुसार उनीहरुलाई रोजगारीमा पठाउने म्यानपवार कम्पनी एक साता अघि साउदी गएको थियो ।
साउदीमा म्यानपवार कम्पनीले नेपाली दुतावास, रोजगारदाता कम्पनीसँग छलफल गरेका थिए । छलफलमा सहमति भएसँगै अलपत्र ३८ जना नेपाली पुनः काममा फर्केका छन् ।