
काठमाडौं — मलेसियामा समलिंगीहरूलाई लट्ठी हान्ने सजाय दिने गरिएको छ । अगस्ट महिनामा नै दुई महिलालाई यस्तो सजाय दिइएको छ ।
यो सजायलाई क्रूर र अन्यायपूर्ण भन्दै मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले यसलाई बन्द गर्न अनुरोध गरेको छ ।
शरिया अदालतले लेस्बियन सेक्स गर्ने प्रयासमा रहेका दुई अज्ञात महिलालाई लट्ठी हान्ने र जरिवाना लगाउने सजाय दिएको छ ।
पूर्वोत्तर राज्य तेरेन्गानुमा यो जोडीलाई मंगलवार लट्ठी हान्ने भएपनि कारणवश अब भदौ १८ गते मात्र सजाय दिइने भएको छ । यस विषयमा प्रतिक्रियाका लागि अधिकारीहरूसँग सम्पर्क हुन सकेन ।
एम्नेस्टीका मलेसिया निर्देशक ग्वेन लीले सजाय स्थगन गर्नु मात्र पर्याप्त छैन । दुवै महिलालाई दिइएको सजाय तुरुन्तै निःशर्त रद्द गर्नुपर्छ । यो अन्याय सधैंका लागि अन्त्य गरिनुपर्छ ।
एजेन्सी