
काठमाडौं–आज अगष्ट ३० तारिख । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । द्वन्द्वकालका घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेपछि यो दिवस मनाउन थालिएको हो ।
नेपालमा यो दिवस मनाउन थालेको चौथौैँ पटक हो । दिवसका अवसरमा बेपत्ता व्यक्तिका विषयमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा यो दिवस प्रत्येक वर्ष ३० अगष्टका दिन मनाउने गरिएको छ । दिवस मनाउनेक्रमको शुरुआत सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट भएको हो ।
गोप्य तवरले थुनामा राख्ने वा बेपत्ता बनाइने कार्य मानवाधिकारको ठाडो उल्लङ्घन हो । अन्तर्राष्ट्रियरूपमा कार्यरत मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनल, संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समितिजस्ता संस्थाले यसबारे विश्वव्यापीरूपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिइरहेका छन् ।
दिवस मनाइँरहदा यता बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनयुद्धमा बेपत्ता पारिएका व्यक्तिका आफन्तलाई सकारात्मक अनुभूति दिलाउने गरी काम गर्न नसकेको गुनासो गरिएको छ । विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिका अवस्था ६० दिनभित्र परिवारजनलाई जानकारी गराउने भनी गरिएको प्रतिबद्धता १२ वर्ष बित्न लाग्दा पनि पूरा नभएकोप्रति पीडितले गुनासो छ ।
राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोग आफैमा रुमलिएको र पीडित पक्षको गुनासा सम्बोधन गर्ने गरी आफ्ना क्रियाकलाप अघि बढाउन नसकेको उनीहरूको भनाइ छ । बेपत्ता परिवार समाजका संस्थापक अध्यक्ष एकराज भण्डारीले भने, “युद्धका बेलामा बेपत्ता पारिएका व्यक्तिका परिवार आफ्ना आफन्त हराएका वा मारिए वा जिउँदै छन् भन्ने कुरा अहिलेसम्म केही पत्ता नलाग्नुले पीडा भएको छ तर आयोगले पीडितको पीडालाई बुझेर काम गरेन ।”
पीडितले अनुभूति गर्ने तरिकाले काम नगरेको गुनासोप्रति आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकले भने, “आयोगले पीडितकै लागि काम गरेको हो, न्याय दिनकै लागि निरन्तर काम गरेका छाँै ।”
द्वन्द्वकालमा बेपत्ता भएका १२ जना व्यक्ति घर फर्किएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालका घटनाको सत्यतथ्य पत्ता लगाउन लागिपरेका उजुरीको विस्तृत अध्ययन फारम भर्ने क्रममा १२ बेपत्ता व्यक्ति घर फर्केका छन् ।