
काठमाडौं — बिमस्टेक सम्मेलनमा सहभागी हुने विदेशी पाहुनाको स्वागतका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल बिहीवार बिहानभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चाओचालाई स्वागत गर्न उपप्रधानमन्त्री पोखरेल विमानस्थलमा खटिएका थिए ।
मन्त्री पोखरेल भीभीआईपी पाहुनाको स्वागतका लागि बिहीवार बिहान सवा ७ बजे विमानस्थल पुगेका थिए ।
मोदी साढे ८ बजे विमानस्थलमा ओर्लिएका थिए । त्यसपछि हसिना सवा ९ बजे विमानस्थलमा ओर्लेकी थिइन् ।

साढे १० बजे काठमाडौं ओर्लेका थाइल्यान्डका प्रधानमन्त्रीलाई स्वागत गरेपछि मात्र मन्त्री पोखरेल फिर्ता भए । सरकारले विदशी पाहुनाको स्वागतका लागि पोखरेललाई पठाउने निर्णय गरेको थियो ।
म्यानमार र श्रीलंकाका राष्ट्रपति तथा भुटानको अन्तरिम सरकारका प्रभुखलाई पनि मन्त्री पोखरेलले नै स्वागत गरेका थिए ।
