०४ असार २०८३, बिहीबार

बोधगयाका प्रमुख भिक्षुमाथि यौन शोषणको आरोप

बोधगयाका प्रमुख भिक्षुमाथि यौन शोषणको आरोप

काठमाडौं — भारतको बिहारमा रहेको बोधगयास्थित एक बौद्ध ध्यान केन्द्रका प्रमुख भिक्षुलाई एक दर्जनभन्दा बढी बालकको यौन शोषण गरेको आरोपमा बुधवार प्रहरीले पक्राउ गरेको छ । उक्त केन्द्रमा अध्ययनरत असमका बालकमाथि शोषण भएको आरोप छ । 

बालकहरूका मातापिताले बोधगया प्रहरी चौकीमा एफआईआर दर्ता गरेका थिए । बालकहरू ६ देखि १२ वर्षसम्मका थिए । 

गया प्रहरीका सुपरीवेक्षक राजीव मिश्राले घटनाको सूचना पाउनेबित्तिकै प्रहरीले मस्तीपुर गाउँबाट भिक्षुलाई पक्रेको बताए । आरोपित भिक्षु पनि असमकै हुन् । 

प्रहरीले बालक र तिनका मातापिताको बयान लिएको छ । प्रसन्न ज्योति बौद्ध विद्यालय र ध्यान केन्द्रलाई सञ्चालन गर्ने प्रसन्न सामाजिक कल्याण ट्रस्टको विवरण पनि प्रहरीले खोजिरहेको छ । त्यहाँ कुनै ठगी भएको पाइएमा ट्रस्टका सबै सदस्यविरुद्ध एफआईआर दर्ता गरिने मिश्राले बताए ।

भन्ते संघप्रिय सुजोय नामक भिक्षुले आफूहरूलाई शयनकक्षमा बोलाउने अनि यौन शोषण गर्ने गरेको बालकहरूले बताए । उनले आफूलाई कुटपिट पनि गर्ने गरेको र उनले भनेको नमान्दा जे पनि हुन सक्ने पनि धम्की दिने गरेको
बालकहरूको आरोप छ । बालकहरू केन्द्रमा एक वर्षभन्दा बढी समयदेखि अध्ययनरत छन् ।

उनीहरूले प्रहरीका वरिष्ठ अधिकारीलाई आफ्नो शरीरमा लागेको चोटपटकको दाग समेत देखाए । आफ्ना बालबालिकाले फोनमा अत्याचारको गुनासो गरेपछि असमबाट मातापिताहरूले बिहार आएर एफआईआर दर्ता गराए अनि
प्रमुख भिक्षुलाई कठोर सजाय दिनुपर्ने माग राखे ।

मिश्राले पीडितहरूको बयान रेकर्ड गर्ने र उनीहरूको स्वास्थ्य जाँच गराउने बताए । सबै १५ बालक र तिनका मातापितालाई विष्णुपाद मन्दिरनजिक असम भवनमा प्रहरी सुरक्षामा राखिएको पनि उनले बताए ।

हिन्दुस्तान टाइम्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्