![बिमस्टेक शिखर सम्मेलनको दोस्रो शत्र शुरू, काठमाडौं घोषणापत्र जारी गर्दै आजै सम्पन्न हुने [लाइभ]](https://lktcdn2.prixacdn.net/media/Bimstec_OmkWJkNGH3.jpg)
काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनको दोस्रो शत्र शुरू भएको छ ।
होटल सोल्टीमा शुरू भएको सम्मेलनको दोस्रो तथा अन्तिम शत्रमा आज कनेक्टिभिटीसम्बन्धी सम्झौता हुँदैछ ।
सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको अध्यक्षता श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनालाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
त्यसक्रममा ओली र सिरिसेना दुवैले संक्षिप्त सम्बोधन पनि गर्नुहुनेछ ।
ट्रान्सपोर्ट कनेक्टिभिटी गुरुयोजना र आतंकवाद एवं अन्तरदेशीय अपराध नियन्त्रणबारे छलफलपछि काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ ।
बिमस्टेकको स्थापना सन् १९९७ जुन ६ मा थाइल्यान्डको बैंककमा भएको थियो । बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्यान्ड सदस्य रहने गरी क्षेत्रीय सञ्जाल गठन भएको थियो ।
सन् १९९७ डिसेम्बर २२ को मन्त्रीस्तरीय बैठकबाट म्यान्मार यसको सदस्य भएको थियो । सन् १९९७ जुन ६ मा थाइल्यान्डको बैंककमा भएको प्रथम शिखर सम्मेलनबाट बिम्स्टेकको नामकरणलाई अनुमोदन गरेको थियो । यसको स्थायी सचिवालय बङ्गलदेशको राजधानी ढाकामा छ ।
नेपाल सन् १९९८ मा यसको आमन्त्रित सदस्य बनेको थियो । सन् २००४ फेब्रुअरीमा थाइल्यान्डमा भएको छैटौं मन्त्रीस्तरीय बैठकबाट नेपाल र भूटान पूर्ण सदस्य भएका थिए । त्यसअघि “सहकार्य, सहिष्णुता र समृद्धि” को मूल नारासहित म्यान्माको राजधानी नेपिटमा सन् २०१४ को मार्चमा बिम्स्टेकको तेस्रो शिखर सम्मेलन भएको थियो । बिम्स्टेकको अध्यक्षीय कार्यकाल हरेक दुईवर्ष हुने गर्छ ।
यसअघि सन् २००४ जुलाई ३१ मा थाइल्यान्डको बैंकक, २००८ को १३ नोभेम्बरमा भारतको नयाँदिल्ली र २०१४ को मार्च ४ मा म्यान्मारको नेपिटमा बिम्स्टेक शिखर सम्मेलन भएको थियो । सन् २०१६ मा भारतको गोवामा बिम्स्टेकको आउटरिच सम्मेलन सम्पन्न भएको थियो ।
बिम्स्टेकका मुख्य १४ उद्देश्य र कार्यसूचीमा वाणिज्य, लगानी, प्रविधि, पर्यटन, मानवीय स्रोत विकास, कृषि, मत्स्यपालन, यातायात र सञ्चार, कपडा र छालाजन्य उद्योग आदि छन् । यसले शिक्षा, प्राविधिक व्यावसायिक क्षेत्रमा तालीमकाका साथै आर्थिक, सामाजिक प्राविधिक र वैज्ञानिक क्षेत्र र साझा स्वार्थका विषयमा सहकार्य गर्नेछ ।
बिम्स्टेक मुलुकमा करीब एक अरब ६० करोड जनसङ्ख्या छन् विश्व भू–भागको २२ प्रतिशत हिस्सा यसले ओगट्छ । यस क्षेत्रको सरदर आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत छ ।
यसले दक्षिण र दक्षिण पूर्वी मुलुकबीच पुलको काम गर्नेछ । यो सार्क र आसियान जस्ता क्षेत्रीय संयन्त्रका लागि पनि अन्तर्राष्ट्रिय सहकार्य मानिन्छ । सार्कमा सदस्य रहेका अधिकांश सदस्य बिम्स्टेकमा भएकाले सार्क र यसको कामको दोहोरोपना वा कुनै एक संयन्त्र सक्रिय भएमा अर्को निष्क्रिय हुन सक्ने खतरा विज्ञहरुले औँल्याएका छन् ।
सार्कका सदस्यमध्ये पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान बिम्स्टेकमा छैनन् ।
हेर्नुस्,लाइभ :