काठमाडौं — अनेकौं हलिउड सेलेब्रिटी सहित २५० भन्दा बढी मानिसको आईक्लाउड अकाउन्ट ह्याक गर्ने ह्याकरलाई आठ महिनाको कारावास सजाय दिइएको छ ।
जर्ज गारोफ्यानो नामक ती ह्याकरलाई बुधवार जेल पठाइएको हो । जेलबाट छुटेपछि पनि उनलाई तीन वर्ष निगरानीमा राखिनेछ । उनले ६० घन्टाको सामुदायिक सेवा पनि गर्नुपर्नेछ ।
कनेक्टिकटमा बस्ने यी ह्याकरले फेक एप्पल सपोर्ट इमेल बनाएर अनेकौं मानिसको अकाउन्टको निजी सूचना चोरेका थिए ।
स्कारलेट योहान्सन, जेनिफर लरेन्स, जेसिका अल्बा, रिहाना, कर्स्टन डन्स्ट लगायतका नग्न तस्वीरहरू सार्वजनिक भएका थिए । त्यसमा संलग्न पाइएका गारोफ्यानो लगायत चार व्यक्तिलाई पक्राउ गरिएको छ ।
यी सबैलाई १६ देखि १८ महिनासम्मको सजाय दिइएको छ ।
यो ह्याकिङ सन् २०१४ मा गरिएको थियो । ठूला सेलेब्रिटीको निजी तस्वीर चोरेर उनीहरूले इमेज शेयरिङ साइटमा हालेका थिए ।
एजेन्सी