
काठमाडौं — अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको विषयमा विशेष अभियोजक रोबर्ट मुलरको अनुसन्धानलाई राष्ट्रपति डोनल्ड ट्रम्पले अवैध बताएका छन् ।
मुलरको अनुसन्धानको दायरा आफ्नो परिवार वरिपरि मात्र घुमेको ट्रम्पको आरोप छ ।
आइतवार ब्लूमबर्ग न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले अघिल्लो वर्ष चुनाव अभियानमा रुससँगको कथित साँठगाँठको अनुसन्धान गर्नका लागि मुलरको नियुक्ति गलत रहेको उनको भनाइ छ । ‘म यसलाई अवैध अनुसन्धानका रूपमा हेर्छु,’ उनले भने ।
केही कानूनी विशेषज्ञहरूले विशेष अभियोजकको सम्बन्धमा विशिष्ट कानूनको अभावमा न्याय मन्त्रालयद्वारा अनुसन्धानका लागि एफबीआईका पूर्व निर्देशक मुलरको नाम उठ्दा त्यसमाथि प्रश्न उठाएका थिए । ट्रम्प प्रशासनको आफ्नै न्याय मन्त्रालयले चाहिँ यो अनुसन्धानलाई वैध बताइरहेको छ ।
अगस्ट महिनाको शुरूआतमा ट्रम्पका पूर्व राजनीतिक सल्लाहकार रोजर स्टोनको सहयोगी रहेका एन्ड्रु मिलरले पुनरावेदन अदालतमा मुलरको नियुक्तिको वैधतामा चुनौती दिएका थिए । मिलरले स्टोनका विषयमा मुलरको अधिकारमा रहेको ग्रान्ड जुरीसमक्ष गवाही दिनुपर्नेछ ।
मिलरलाई सहयोग गरिरहेको नेसनल लिगल एन्ड पोलिसी सेन्टरले सन् २०१७ को मे १७ मा मुलरको नियुक्ति संविधानको उल्लंघन भएको किनकि यो नियुक्ति महान्यायाधिवक्ता जेफ सेसन्सले नभई उपमहान्यायाधिवक्ता रोड रोजेन्स्टीनले गरेको जिकिर लिएको छ ।
एजेन्सी