
काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्पन्न भएको छ ।

सम्मेलनमा सहभागी हुन बिमस्टेक सदस्य राष्ट्र बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाईल्याण्डका राष्ट्र तथा सरकार प्रमुख काठमाडौं आए ।

बिमस्टेकका भीभीआईपी पाहुनाको सुरक्षा तथा आवातजाव व्यवस्थित बनाउन सरकारले ३ दिन काठमाडौं उपत्यकामा यातायात सञ्चालनका लागि जोर–बिजोर प्रणाली लागू गर्यो । जसअनुसार १३ र १५ गते बिजोर नम्बर भएका सवारी मात्रै गुड्न दिइयो भने १४ गते जोर नम्बर भएका सवारीसाधन गुड्न दिइयो ।

भीभीआईपीको सवारीलाई व्यवस्थित गर्न काठमाडौं उपत्यकाका मुख्य सडक अधिकांश समय खाली गराइयो । सम्मेलनको अन्तिम दिन शुक्रवार त प्राय दिनभर नै काठमाडौंका मुख्य सडक खाली गराइयो ।

शुक्रवार साँझसम्म सडक खाली गराइएका कारण सार्वजनिक तथा निजी सवारीसाधन चल्न पाएनन् । सार्वजनिक सवारीका साधन कम चलेका कारण धेरै ठाउँमा यात्रुहरु अलपत्र परे ।

काठमाडौंको रत्नपार्क, सुन्धारा, नयाँ बानेश्वर, माइतीघर, चाबहिल, गौशाला, त्रिपुरेश्वर लगायत क्षेत्रमा गाडी नपाउँदा यात्रुहरुको ठूलो भीड नै लाग्यो ।

शुक्रवार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किदाको समयसम्म काठमाडौंका सडक खाली गराइयो । 





