काठमाडौं, १० फागुन — कुनै पनि सम्बन्ध तोडिएपछि सम्बन्धमा आइलागेका धेरै वस्तुले तनाव दिन थाल्छन् । अमेरिकाको लस एन्जेलसमा यस्तै वस्तुहरू राखिएको एउटा संग्रहालय (म्युजियम) खुलेको छ ।

दिल तोडिएपछि प्रेमी वा प्रेमिकासँग जोडिएका वस्तुलाई के गर्ने भनेर मान्छेलाई ठम्याउन गाह्रो हुन्छ । त्यो वस्तुले निष्ठुर प्रेमीको याद दिलाइरहन्छ ।
टुटेका सम्बन्धहरूलाई याद दिलाउने यो संग्रहालय हलिउडमा छ ।
दैनिक जिन्दगीसँग जोडिएका हरेक चीज यहाँ कलात्मक तवरले राखिएको छ । त्यही चीजका साथ कुन व्यक्तिले के गुमायो भन्ने बारेमा कथा पनि लेखेर राखिएको छ ।

सान फ्रान्सिस्कोकी एक महिलाले विवाहमा लगाएको वस्त्र एक अचारको भाँडोमा राखिछन् । अनि उनका पति रिसाएर उनलाई छोडेर हिँडिदिए । अहिले महिलाले त्यो वस्त्र यही संग्रहालयमा राखेकी छन् ।
संग्रहालय हालै मात्र शुरु भएको हो । एक वकिलले क्रोएसियामा यस्तै प्रकारको संग्रहालय देखेपछि हलिउडमा पनि खोलेका हुन् ।
क्रोएसियाको संग्रहालय पनि ब्रेकअपको शिकार भएका दुईजना कलाकारले शुरु गरेका थिए ।
लस एन्जेलसको संग्रहालयका लागि संसारभरिका मानिसले आफ्ना निशानीहरू दान गरेका छन् । नर्वेका एक मानिसले आइरन दान गरेका छन् ।

आइरनसँगै उनले एक नोट राखेका छन् । त्यसमा लेखिएको छ, ‘यही आइरनले मैले आफ्नो वेडिङ ड्रेस सिलाएको हुँ । अब मसँग उनको यादको यही निशानी मात्र बाँकी छ ।’
बीबीसी हिन्दीबाट