
काठमाडौं — माल्दिभ्ससँग विगत केही समयदेखि तनाव भएका कारण भारतले त्यहाँको एक पुल उद्घाटन कार्यक्रम बहिष्कार गरेको छ ।
उक्त पुल खासमा चीनको विकास निर्माण परियोजना हो । माल्दिभ्सको राजधानी मालेलाई एयरपोर्ट आइल्यान्डसँग जोड्ने यस पुलको उद्घाटन समारोहलाई भारतले बहिष्कार गरेको हो ।
माल्दिभ्समा भारतका राजदूत अखिलेश मिश्रा बिहीवार पुल उद्घाटनमा गएनन् । माल्दिभ्स सरकारले आधिकारिक बयान जारी गर्दै भन्यो, ‘उनलाई सरकारका तर्फबाट बोलाइएको थियो तर उनी कार्यक्रममा आएनन् ।’
उता भारतले यस विषयमा टिप्पणी गरेको छैन ।
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामीन र चीनको अन्तर्राष्ट्रिय विकास सहायता निकाय वाङ शिआओताओले पुल उद्घाटन समारोहमा भाग लिए ।
उक्त अवसरमा माल्दिभ्सका राष्ट्रपतिका सुरक्षा कर्मचारीहरूले अन्य देशका दूतावाससँग दुर्व्यवहार गरेको पनि बताइएको छ । आरोपअनुसार, आयोजन स्थलमा चिनियाँ राजदूतलाई कार ल्याउने अनुमति दिइएको थियो ।
विपक्षी दलका प्रवक्ता अहमद महलूफले ट्विट गर्दै लेखे, ‘श्रीलंका र बंगलादेशका राजदूतहरूले यो कार्यक्रमको बहिष्कार गरे किनकि उनीहरूको कारलाई यामीनका सुरक्षाकर्मीले रोके र पैदलै जान भने ।’
यामीनले २० करोड डलरको लगानीमा बनेको पुललाई आफ्नो राजनीतिक इतिहासको सबभन्दा ठूलो उपलब्धि बताएका छन् ।
माल्दिभ्स, मरिसस र सेसेल्स जस्ता देशमा प्रभुत्व जमाउनका लागि चीन र भारतबीच चर्को प्रतिस्पर्धा छ ।
चीनले त्यस क्षेत्रमा बन्दरगाह र सडक बनाएर भारतलाई चुनौती दिएको छ । माल्दिभ्सका चीनसमर्थक अब्दुल्ला यामीन सरकारले भारतलाई आफ्ना सैनिक र हेलिकप्टर फिर्ता लैजान भनेका छन् । नयाँ घटनाबाट भारत र माल्दिभ्सको
तिक्तता झनै बढेको छ ।
एजेन्सी