
काठमाडौं – युरोपेली फूटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्यिन्स लीगको समूह चरणको तालिका बिहीवार सार्वजनिक गरिएको छ ।
लोकान्तरमा यसअघि हामीले समूह १ देखि ४ सम्मका १६ क्लबहरूको विश्लेषण प्रस्तुत गरेका थियौं । यहाँ बाँकी १६ क्लबको नालीबेली दिइनेछ ।
समूह ५
बायर्न म्युनिख, बेन्फिका, आयाक्स, एईके एथेन्स
यस समूहका तीन क्लबले ११ युरोपीयन कप र च्याम्पियन्स लीग जितिसकेका छन् । निको कोभाच बार्यनका व्यवस्थापक हालै मात्र बनेका हुन् र उनले आउनेबित्तिकै खेलाडीहरूलाई अतिरिक्त शारीरिक परिश्रम गर्न लगाएका छन् । जर्मनीको राष्ट्रिय टोलीका धेरैजसो खेलाडीहरू यही क्लबबाट खेल्छन् र उनीहरूलाई शारीरिक परिश्रम आवश्यक पनि छ । बायर्न जर्मनीको सर्वोत्कृष्ट क्लब हो ।
बेन्फिका पोर्तुगालको क्लब हो र यसका प्रशिक्षक रुइ भिटोरिया हुन् । यो क्लबले ग्रीसको क्लब पीएओकेसँग गृहमैदानमा बराबरी खेलेपनि ग्रीसमै गएर चाहिँ ४–१ को जीत हासिल गरेर च्याम्पियन्स लीगमा ठाउँ बनाएको हो । क्लबका खेलाडी पिज्जी यस सीजनमा गजबको फर्ममा छन् र ६ गोल गरिसकेका छन् ।
नेदरल्यान्ड्सको क्लब आयाक्स अघिल्लो सीजनमा त्यहाँको घरेलु लीगमा दोस्रो भएको थियो र प्लेअफमा डाइनामो कीएभलाई हराएर प्रभावशाली खेल देखाएको थियो । आयाक्सले प्रेमियर लीगका खेलाडी डेली ब्लिन्ड र डुसान ताडिचलाई भित्र्याएको छ ।
एईके च्याम्यिन्स लीगको समूह चरणमा सन् २००६–०७ को सीजनपछि पहिलोपटक आएको हो तर मारिनोस ऊजूनिडिसको प्रशिक्षणमा क्लबले ओलिम्पियाकोसलाई पछि पारेर अघिल्लो सीजनमा घरेलु लीग जितेको छ ।
पूर्वानुमान : १) बायर्न, २) बेन्फिका, ३) आयाक्स, ४) एईके
समूह ६
म्यानचेस्टर सिटी, शाख्तार दोनेत्स्क, लियोन, होफेनहाइम
म्यानचेस्टर सिटीको टोली केभिन डी ब्रुइनाको अभावमा पनि बलियै छ । चोटपछि आराम गरिरहेका उनले समूह चरणका सबै खेल गुमाउने सम्भावना छ । प्रशिक्षक पेप ग्वार्डिओलाले सन् २०११ प्छि च्याम्पियन्स लीग जित्न नसकेकोले फूटबलका एलिट क्लबहरूविरुद्धको उनको रणनीति असफल रहेको बताइँदैछ तर त्यसले समूह चरणमा असर नपार्नुपर्ने हो ।
सिटीले अघिल्लो सीजनको समूह चरणमा पनि शाख्तारसँग प्रतिस्पर्धा गरेको थियो । उक्त क्लबबाट बर्नार्ड, फ्रेड र डारियो सर्ना गइसकेका छन् तर चारजना ब्राजिली खेलाडी भित्र्याएर उसले सफलतालाई कायम राखेको छ । पाउलो फोन्सेकाको प्रशिक्षणमा रहेको क्लबले सिटीलाई युक्रेनमा हराएको थियो तर त्यसअघि ऊ एतिहादमा सिटीसँग २–० ले हारेका थियो ।
फ्रान्सेली क्लब लियोन घरेलु लीगमा छैठौं स्थानमा छ । उसले आफ्नो गृहमैदानको पहिलो खेल बन्द ढोकामा खेल्नुपर्ने भएको छ किनकि अघिल्लो सीजनको युरोपा लीग खेलमा सीएसकेए मस्कोविरुद्ध अव्यवस्था गरेकाले उसलाई सजाय दिइएको छ ।
समूहको चौथो टोली होफेनहाइम जर्मन क्लब हो । घरेलु बुन्डेसलिगामा यस सीजनमा ऊ दशौं स्थानमा छ ।
पूर्वानुमान : १) म्यानचेस्टर सिटी, २) शाख्तार, ३) होफेनहाइम, ४) लियोन
समूह ७
रियाल मड्रिड, रोमा, सीएसकेए मस्को, भिक्टोरिया प्लजेन
रियाल मड्रिडले लगातार तीनचोटि च्याम्पियन्स लीग जितिसकेको भएपनि यस सीजनमा उसको कमजोरी देखिएको छ । घरेलु ला लिगामा शतप्रतिशत नतिजा निकालेको भएपनि सुपरकोपामा ऊ एट्लेटिको मड्रिडसँग हारेको थियो । प्रशिक्षक जिनेदिन जिदान र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो क्लबबाट बाहिरिएपछि युरोपेली स्तरमा क्लबले कस्तो प्रदर्शन गर्ला पनि धेरैले उत्सुकताका साथ हेरिरहेका छन् ।
इटालेली क्लब रोमाको समर ट्रान्सफर तीव्र गतिको रह्यो । बाह्रजना खेलाडीहरू स्थायी सम्झौतामा भित्रिए । अघिल्लो सीजनमा रोमा सेमिपफाइनलसम्म पुगेको थियो ।
सीएसकेए मस्कोका राम्रा खेलाडीहरू बेबार्स नाचो, पोन्टस वेर्नब्लूम र अलेक्सान्दर गोलोभिन बाहिरिएका छन् अनि यस सीजनका पाँच लीग खेलमा उसले जम्मा एक खेल जितेको छ ।
भिक्टोरिया प्लजेन सानो क्लब होला तर चेक लीगविजेता हो र उसले यस सीजनमा पनि खेलिएका ६ वटै खेल जितेर उपाधि जोगाउने लक्षण देखाएको छ ।
पूर्वानुमान : १) रियाल मड्रिड, २) सीएसकेए, ३) रोमा, ४) भिक्टोरिया
समूह ८
युभेन्टस, म्यानचेस्टर युनाइटेड, भ्यालेन्सिया, योङ बोइज
यस समूहमा युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोले आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडसम्ग भिड्न लाग्नु नै सबभन्दा ठूलो समाचार हो । इटालियन सेरी आ मा आशावाद छर्न सफल टोली हो युभेन्टस । लगातार सातचोटि लीग जितेको यो टोली च्याम्पियन्स लीगका अघिल्ला चार सीजनमध्ये दुईमा उपविजेता रहेको थियो । रोनाल्डोलाई भित्र्याएपछि उसले च्याम्पियन्स लीग जित्ने सपना देख्न थालेको छ ।
म्यानचेस्टर युनाइटेडको कुरा गर्दा प्रशिक्षक जोसे मउरिन्होको घमण्ड, किचकिचेपन र असफलताले सीजनलाई नै प्रभावित पार्ने लक्षण देखिँदैछ । युनाइटेडले प्रेमियर लीगको तीन खेलमध्ये दुईमा हार बेहारेर खराब शुरूआत गरेको छ । प्रेमियर लीगमै संघर्षरत क्लबले च्याम्पियन्स लीगमा राम्रो प्रदर्शन गर्ने अपेक्षा छैन ।
भ्यालेन्सिया ला लिगाको अघिल्लो सीजनमा चौथो स्थानमा थियो र यसपालि राम्रा खेलाडी भित्र्याएर थप मजबूत बनेको देखिन्छ ।
योङ बोइजले स्विस लीगको यस सीजनमा सबै ६ खेल जितेर अग्रस्थान बनाएको छ । तर सन् १९८६ पछि पहिलोपटक च्याम्पियन्स लीगमा आएको क्लबले खासै चुनौती दिने अपेक्षा छैन ।
पूर्वानुमान : १) युभेन्टस, २) म्यानचेस्टर युनाइटेड, ३) भ्यालेन्सिया, ४) योङ बोइज
द गार्डियनमा प्रकाशित जोनाथन विल्सनको विश्लेषण