
विराटनगर – विराटनगर महानगरपालिकामा गत साउन २७ गते भएको बम विस्फोटको योजना भारतको दरभंगामा भएको खुलासा भएको छ ।
प्रहरीले बम विस्फोटमा संलग्न ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेपछि रहस्य बाहिर आएको हो । शुक्रवार र शनिवार पक्राउ परेका बम विस्फोटमा संलग्न ३ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने क्रममा प्रहरीले नेपालका महानगरपालिका तथा नगरपालिकामा बम विस्फोट गराउने योजना जेठ महिनामा नै भारतको दरभंगामा भएको पाइएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
भारतको दरभंगामा बिक्की भन्ने वीरेन्द्रकुमार यादवको नेतृत्वमा रामरिझान यादव (गौतम) अभिमन्यु गिरी र मनोज सिंह सहितको सहभागितामा योजना बनेको प्रहरीको भनाई छ । बिक्कीकै योजना अनुसार मोरङको जहदा गाउँपालिका वडा नम्बर २ हरिनगरका मनोजकुमार सिंहले भारतको बथनाहाबाट विस्फोटक पदार्थ नेपाल भित्र्याएको प्रहरीले जनाएको छ ।
भारतबाट नेपाल भित्र्याएको विस्फोटक पदार्थ त्यो दिन मनोजले आफ्नै घरमा राखेको र त्यसको भोलिपल्ट सिरहाबाट आएका २ जनाले मनोजसँग भएको बमको बारेमा जानकारी लिएको समेत प्रहरी अनुसन्धानबाट देखिएको एसपी केसीले बताए ।
सिरहाबाट आएका लक्ष्मीपुर पतार गाउँपालिका–३ नयाँटोलका अभिमनु गिरी, सुखिपुर नगरपालिका–५ का रामरिझन यादव सहितले बम बिस्फोट गराएका थिए । तर, बाहिरबाट सहयोग गर्ने राहुल यादवलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । अर्का योजनाकार बिक्की भन्ने वीरेन्द्रकुमार यादवको अवस्थाको बारेमा पनि प्रहरीले जानकारी प्राप्त गर्न सकेको छैन । पक्राउ परेका मोरङका मनोजकुमार सिंहलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो भने अरु २ जना रामरिझन यादव र अभिमन्नु गिरीलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसरी भयो प्रहरी सफल
झण्डै २१ दिनपछि पक्राउ परेका बम काण्डमा संलग्न ३ जनालाई प्रहरीले कसरी पक्राउ गर्यो भन्ने विषय अहिले सबैको चासोको विषय बनेको छ । प्रहरीले विराटनगर महानगरपालिकाभित्र प्रयोग भएको सीसीटीभी फुटेज फेला पार्न सकेको छैन भने अझै त्यसको बारेमा प्रयास भइरहेको जनाएको छ ।
नगर प्रमुख (मेयर) भीम पराजुलीको कार्यकक्ष अगाडि नै बम राख्ने कार्य चानचुने भने थिएन । प्रहरीको अनुसन्धानको क्रममा कसरी त्यो विषय पत्ता लगाउने भनेर नजिकै रहेको सार्वजनिक स्थलको फुटेजमा प्रहरीको ध्यान गयो । त्यहाँ नजिकै रहेको बैंक तथा व्यावसायिक प्रतिष्ठानका फुटेज पनि प्रहरीको अनुसन्धानमा हेरिएको एसपी केसीले बताए । तर, सार्वजनिक स्थल सडकमा राखिएको सीसी क्यामेराको फुटजको आधारमा झोला लिएर भित्र पसेको व्यक्ति बाहिर निस्कँदा खाली हात फोनमा कुरा गर्दै निस्किएको केही समयपछि बाहिरबाट रिमोटको मद्दतबाट बम विस्फोट भएको एसपी केसीले जानकारी दिए ।
महानगरपालिकाभित्र आएको व्यक्तिले कार्यालयमा प्रवेश गर्दाको सीसीटीभी फुटेजको फोटो र बाहिर निस्कँदाको सीसीटीभी फुटेजको फोटो पनि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बम बिस्फोट गराउनको लागि दरभंगामा बनाइएको योजना अनुसार जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका कार्यकर्ता भनेर चिनिने बिक्की भन्ने व्यक्तिले पैसाको लोभमा अभियुक्तलाई प्रयोग गरी बम बिस्फोट गराएको समेत फेला परेको प्रहरीले जनाएको छ ।