काठमाडौं–नेपाली बैंकिङ उद्योगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो कर्जा लगानीको आयोजना– होङसी शिवम् सिमेण्ट अब सम्पन्न हुने क्रममा पुगेको बताइएको छ ।
रु १६ अर्ब रुपैयाँको सामूहिक ऋण लगानी प्रोजेक्टमा एनएमबि एक प्रमुख बैंकको रुपमा रहेको छ । जसको ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह रहेको छ ।
यस्तै सह–प्रमुख बैंक नेपाल इन्भेस्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँ र अन्य सदस्य बैंकहरु प्रभु बैंकको ३ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको १ अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबिआइ बैंकको १ अर्ब रुपैयाँकर्जा प्रवाह भएको छ ।
७ वर्षको अवधि रहेको सो ऋणका लागि बैंक अफ चाइना र चाइना मिङसेङ बैंकले बैंक सुरक्षण जमानत दिएका छन् ।
होङसी शिवम् सिमेण्टमा होङसी होल्डिङ अन्तर्गतको एक सहायक प्रतिष्ठान हङकङ रेड लायन सिमेण्ट नम्बर ३ को ७० प्रतिशत हिस्सा र शिवम् सिमेण्ट लि.को एक सहायक प्रतिष्ठान शिवम् होल्डिङ प्रा.लि.को ३० प्रतिशत हिस्सा रहेको छ ।
होङसी शिवम् सिमेण्टले धितो पत्र बोर्ड र नेपाल राष्ट् बैंकबाट रु ९.८२ अर्ब रुपैयाँ एफडीआईको स्वीकृति समेत लिएको छ ।
कारखाना पूर्ण क्षमतामा संचालन भए पश्चात् यसको प्रतिदिन क्लिन्कर र सिमेण्ट उत्पादन क्षमता ६००० टन (१२०,००० बोरासिमेण्ट प्रतिदिन) पुग्नेछ ।साथै कारखाना आफैले पनि कारखाना संचालनका लागि आवश्यक पर्ने ५० मेगावाट मध्ये १२ मेगावाट विद्युत फोहर वस्तुको तापबाट उत्पादन गर्ने लक्ष्य लिएको छ ।
यसबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै होङसी शिवम् सिमेण्टका निर्देशक लाइवीपेङले भने ”हामी आयोजनाको आर्थिक पक्षको व्यवस्थापन गर्न पाएकोमा हर्षित छौं, जसले होङसी शिवम् सिमेण्टलाई नेपालकै सबैभन्दा ठूलो सिमेण्ट कारखानाबनाएको छ ।”
यस्तै एनएमबि बैंकका सिइओसुनिल के.सी.ले बैंक देशको दिगो विकासमा योगदान पु-याउने किसिमका आयोजनाहरु र क्षेत्रहरुमा सहयोग प्रदान गर्नमा विश्वास राख्ने बताए ।