
काठमाडौं १० फागुन - व्यबस्थापिका संसद्मा विचाराधीन संविधान संशोधन विधेयक अगाडि बढाउनु पर्ने मधेशी मोर्चामा आबद्ध दलको अडान र संशोधन विधेयक अगाडि बढाए संसद अबरोध गर्ने एमालेको चेतावनीका कारण मंगलवारका लागि बोलाइएको संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
संसदको बैठकअघि मंगलवार सभामुख ओनसरी घर्तीले दलका प्रमुख सचेतकहरुसँग गरेको छलफलमा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जवरजस्ती संशोधन विधेयक अगाडि बढाइए संसद अबरोध गर्ने बताएका थिए । संसद सचिवालयले संशोधन विधेयक मंगलवारको कार्यसूचीमा राखेको थियो ।
मधेश केन्द्रीत दलहरुले भने संशोधन विधेयक अगाडि नबढाए संसदको बैठक बहिस्कार गर्ने चेतावनी दिएका थिए । मधेशी जनअधिकार फोरम नेपालका प्रमुख सचेतक डा शिवजी यादवले संशोधन विधेयक कार्यसूचीमा नराखिए संसद बहिस्कार गर्ने बताएका थिए ।
संशोधन विधेयक कार्यसूचीमा संशोधन राख्दा प्रमुख प्रतिपक्षी दल एमालेले नमान्ने र संशोधन प्रस्ताव नराख्दा मधेशी मोर्चाले नमान्ने भएपछि बैठक बुधवार सम्मका लागि सूचना टासेर स्थगित गरिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्बदलीय बैठक र प्रमुख तीन दलका नेताहरुको बैठकले कुनै निकाश निकाल्ने अपेक्षा सहित संसद बैठक बुधवार सम्मका लागि स्थगित भएको सचेतक यादवले बताए ।
विजनेस अभावमा १५ दिनको स्थगनपछि मंगलवार दिउसो १ बजेका लागि संसदको बैठक बोलाइएको थियो । संसदको अर्को बैठक बुधवार दिउसो २ बजे बस्नेछ ।