
विराटनगर – विगत ३ दिनदेखि अस्पतालका ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सक काममा फर्किएपछि अस्पतालमा बिरामीको चाप बढेको छ ।
नेपाल चिकित्सक संघको अगुवाइमा आन्दोलन शुरू गरेका चिकित्सकले आन्दोलन फिर्ता लिएसँगै अस्पतालमा बिरामीको चाप बढेको हो । चिकित्सक संघले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ का चिकित्सा सम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्नुपर्ने माग राखेर केही समयदेखि आन्दोलन गर्दै आएको थियो ।
सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सोमबार ३ बुँदे सहमति भएपछि ओपीडी सहितको आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । डाक्टरले मुलुकभरका अस्पतालका आकस्मिक सेवाबाहेक अन्य ओपीडी सेवा बन्द गरेपछि बिरामीले सास्ती खेप्दै आएका थिए ।
मंगलवारदेखि डाक्टर काममा फर्कन थालेपछि कोशी अञ्चल अस्पतालमा बिरामीको चाप बढेको हो । गत आइतवार बिरामी भएर अस्पताल पुगेका सबै बिरामीलाई फिर्ता गराइएको थियो । अहिले कोशी अञ्चल अस्पताल विराटनगरमा दैनिक एक हजार बढी बिरामी ओपीडी सेवाको लागि आउने गरेको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रोशन पोखरेलले जानकारी दिए ।
दैनिक एक हजार बढीले कोही अञ्चल अस्पतालबाट पाउनुपर्ने ओपीडी सेवा पाउन सकेका थिएनन् । मंगलवारदेखि डाक्टर काममा फर्कन थालेपछि विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा बिरामीको घुइँचो लागेको हो । मेसु पोखरेलले एक्कासी बिरामीको चाप बढ्दा चिकित्सकलाई थेग्नै गाह्रो भएको बताए ।