
विराटनगर – मोरङको मिक्लाजुङ गाँउपालिका–२ टाडीकी ५० वर्षीया विमला राई उर्लाबारीबाट विराटनगर आउँदै थिइन् । बुधवार बिहान ८ बजे उर्लाबारीबाट मे१ख २५५४ नम्बरको नागरिक यातायातको रातो गाडीमा चढिन् ।
उनी चढेको ५ मिनेटमा किसान चोक नआइपुग्दै उनलाई वान्ता हुन थाल्यो । उनले हत्तनपत्त आफू बसेको सिटमाथि राखिएको कालो प्लास्टिक निकालेर बान्ता गरिन् । बान्ता अब कहाँ राख्ने वा झ्यालबाट फाल्ने ? उनलाई निकै तनाव भयो । तर, गाडीका हेल्परले गाडीभित्रै रहेको ढक्कन सहितको डस्टबिन देखाइदिए । उनले फोहोर त्यहीँ फालिन् ।
उनलाई अरु बेलाको जस्तो समस्या भएन । हतारको बेला प्लास्टिक खोजिराख्नु परेन । करीब २ घण्टाभित्रै विराटनगर आइपुगेकी राईले भनिन्, ‘धन्न गाडीभित्रै प्लास्टिक रहेछ र सजिलो भयो ।’
उनीजस्तै अर्का ४५ वर्षीय खुद्रा व्यापारी पंकज शाहलाई राता गाडीले साह्रै सहज भएको बताउँछन् । उनको खुट्टामा चोट थियो, उनी अशक्त सिटमा आनन्दले बसेर विराटनगर आइपुगेका थिए । पछिल्ला समयमा आएका राता गाडी अहिले सबैको रोजाइ बनेको छ ।
राता गाडीमा यात्रा गर्दा जीपीएसको प्रविधिबाट ठाउँको नाम पनि भन्ने र नजान्ने मान्छेले पनि आफू झर्ने ठाउँको बारेमा सहजै जानकारी पाउने भएपछि यस्ता गाडी सबैको रोजाइ बनेका छन् ।
नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रालिले सञ्चालनमा ल्याएका अत्याधुनिक सुविधायुक्त राता बस सञ्चालनमा ल्याएपछि राता गाडी भित्र्याउने लहर नै चलेको हो । अन्य बसभन्दा सहज र सजिलो हुने गरेका कारण रातो बसमा नै यात्रा गर्ने गरेको विराटनगरकी दिपा राईले बताइन् ।
‘अन्य बसजस्तो जहाँ पायो त्यहाँ नरोक्ने भएका कारण ननस्टप हिड्ने गर्छ, अर्को कुरा काठमाडौं जाने बस जत्तिकै सुविधायुक्त हुने गरेका कारण सामान पनि सुरक्षित हुने र सीसी क्यामराको निगरानीमा हुने भएका कारण नागरिक बसमा नै यात्रा गर्न सहज हुन्छ,’ उनले भनिन् ।
नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रालिसँग अहिले १५ वटा रातो रंगका गाडी छन् । काकडभिट्टाबाट धरानका लागि ७ वटा र विराटनगरका लागि ७ वटा गाडी चल्ने गरेको नागरिक यातायात ट्राभल्स एण्ड टुर प्रालिका सञ्चालक राजेन्द्र रिजालले जानकारी दिए ।
बसभित्र जीपीएस प्रणाली
बसमा सबैभन्दा राम्रो पक्ष भनेको आफू कुन स्थानमा उत्रने हो त्यो आफै गाडीभित्र भएको जीपीएस प्रणालीले बताउने गरेको सञ्चालक रिजालले बताए । यस्ता राता बस अढाइ घण्टामा काकडभिट्टाबाट धरान र ३ घण्टाको अवधिमा विराटनगरको यात्रा पूरा गर्ने गरी सञ्चालनमा ल्याइएका हुन् । तर, यही सडकमा पुराना मोडलका बसले ५ घण्टासम्म लगाउँदै आएका थिए ।
राता बसमा यात्रा गर्ने अशक्त र महिलालाई आरक्षण सिटको व्यवस्था, बालबालिका र अशक्त नागरिकलाई बस चढ्न सहज होस् भन्नका लागि बस सञ्चालनमा ल्याइएको नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रालिका प्रवन्धक रविन सुवेदीले जानकारी दिए ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थी वर्गलाई परिचय पत्रका आधारमा सरकारले निर्धारण गरेको छुट सुविधा दिइएको छ । विद्यार्थीलाई सार्वजनिक बिदा बाहेक अन्य दिन ४५ प्रतिशत छुटको व्यवस्था गरिएको मे१ख २५५४ नम्बरका परिचालक निलकण्ठ निरौलले बताए ।
अझ यसमा ज्येष्ठ नागरिक र अपाङ्गगता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनको भनाई छ । उनले भने, ‘अन्य गाडीमा जस्तो यात्रुसँग भाडाको लागि झगडा र मोलमोलाई गरिराख्न नपर्ने, कम्पनीले तोेके अनुसारको भाडा लिने हो यसले गर्दा यात्रुसँग राम्रो सम्बन्ध स्थापित हुन्छ ।’
जीपीएसको सहयोगमा यात्रुलाई बस रोकिने ठाउँ, आइपुग्न लागेको सूचना उपलब्ध हुने, यात्रुले आफ्नो स्मार्ट फोनमा एप्स डाउनलोड गरी कम्पनीको कुन बस कहाँ छ र कति बेला कुन ठाउँमा आइपुग्छ भन्ने जानकारी अनलाइनबाट प्राप्त गर्न सक्ने गरी बसले व्यवस्था मिलाएका छन् ।
राता बसमा यात्रुले चाहे अनुसारको सबै सुविधा पाउन थालेपछि राता बस पछिल्ला समय सबै यात्रुको रोजाइ बन्न पुगेको छ । नागरिक यातायात मात्र हैन, हिमशिखर, एरिना, जनता, सुर्योदय लगायतका १ दर्जन कम्पनी पछिल्लो १ वर्षमा राता बस लिएर भित्रिएका छन् । अझ नेपाल सरकारले सिण्डिकेट खारेज गरेसँगै नयाँ कम्पनीले पनि नयाँ बस विराटनगरमा थपेका छन् ।
राता बसजस्तै सगरमाथा यातायात हरियो बस हो । काठमाडौंको साझा यातायातको मोडेलमा आएको यो बसले पनि यात्रुलाई सुविधायुक्त यात्रा गराउने गरेको यात्रुको बुझाई छ । तर, पछिल्लो समयमा नागरिक यातायातले आफ्नो गुणस्तरमा सबैको मन जित्न थालेपछि राता गाडीको ठूलै ताँती लागेको छ । तर, कतिपय अवस्थामा पुराना गाडीलाई पनि राता गाडी बनाउने लहर नै चल्न थालेको छ ।