
काठमाडौं- वैदेशिक रोजगारीका क्रममा विदेशमा हुनुहुन्छ ? दशैंको बेलामा पैसा पठाउने तयारी गर्नुभएको छ ? यदी छ भने ढिला नगर्नुहोस् । घरमा पैसा पठाउनका लागि दशैसम्म नकुर्नुस् ! किनकी अमेरिकी डलरको भाउ बढेको छ । डलर महँगो हुँदा विदेशबाट पठाउने रकम धेरै हुन जान्छ ।
पछिल्ला केही दिनमा डलरको भाउ बढ्ने क्रम जारी छ । आज(बुधबार) नेपाली बजारमा १ डलरको भाउ १ सय १४ रुपैयाँ ८४ पैसा रहेकोछ । नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको करिद दर १ सय १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ८४ पैसा रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएका कारण नेपाली बजारमा डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
डलरको भाउ महँगो हुँदा नेपाले आयात गर्ने विदेशी सामाग्रीको भाउ बढ्नेछ भने डलरको भाउ बढ्दा ठूलो असर पेट्रोलियम पदार्थमा पर्न जान्छ । तर रेमिट्यान्समा भने फाइदा पुग्छ ।