२३ जेठ २०८३, शनिबार

नेयमार बार्सिलोना फर्किन इच्छुक, क्लब आफैं चाहिँ अनिच्छुक

नेयमार बार्सिलोना फर्किन इच्छुक, क्लब आफैं चाहिँ अनिच्छुक

काठमाडौं — नेयमारले बार्सिलोना क्लबमा फर्किन इच्छा देखाएको भएपनि क्लबबाट उत्साहजनक प्रतिक्रिया नआएको मिरर पत्रिकाले लेखेको छ । 

यी ब्राजिली स्टार फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनमा अघिल्लो वर्ष कीर्तिमान रकममा भित्रिएका थिए । 

तर उनी पीएसजीमा बेकार आइएछ भनी पश्चात्ताप गर्दै ला लिगा फर्किन चाहेको विश्वास गरिन्छ । 

बार्सिलोनाबाट निस्कने पत्रिका मुन्डो डिपोर्टिभोका अनुसार, नेयमार आफ्ना सहखेलाडी एडिनसन कवानीसँगको झगडा र युवा खेलाडी किलियन एम्बाप्पेको उदयका कारण संघर्षरत छन् । 

आफूलाई विपक्षी टीमका डिफेन्डरहरूले जानीजानी टार्गेट बनाएको पनि उनी ठान्छन् । 

छब्बीस वर्षीय नेयमारले बार्सिलोनाका कर्मचारीहरूसँग राम्रो सम्बन्ध कायम राखेको र एक कार्यकारी अधिकृतसँग फर्कने कुरा राखेको बुझिएको छ । 

तर ला लिगा च्याम्पियन क्लबले नेयमारलाई फिर्ता लिन नचाहेको देखिन्छ । नेयमारलाई सल्लाह दिने उनका पिता लगायतका मानिसका कारण क्लब उनीप्रति अनिच्छुक देखिएको हो ।

बार्सिलोना भन्दा पनि नेयमार रियाल मड्रिड जाने सम्भावना छ किनकि उक्त क्लब क्रिस्टियानो रोनाल्डोको विकल्प खोजिरहेको छ । 

च्याम्पियन्स लीग विजेता टोलीले यही समरमा नेयमारलाई भित्र्याउन चाहेको भएपनि नसकेपछि सीजनको अन्त्यमा फेरि कोशिश गर्ने सम्भावना छ ।
 

salt training

कमेन्ट गर्नुहोस्