१६ असार २०८३, मंगलबार

२५ दिनमा सकियो ‘बुलबुल’ को शूटिङ

२५ दिनमा सकियो ‘बुलबुल’ को शूटिङ

काठमाडौं — स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘बुलबुल’को २५ दिनमा सुटिङ सकिएको छ । साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको फिल्म निर्धारित समयभन्दा अगाडि नै सकिएको निर्माण टिमले जानकारी गराएको छ ।  निर्देशक बिनोद पौडेलले एउटा गीतको काम बाँकी राखेर फिल्मको काम सकाएको बताए ।

‘आउटडोरमा सेट नै लगाएर खिच्न पर्ने गीत छ । मौसम अझै सफा भइसकेको छैन । त्यही कारणले त्यो गीत दसैंतिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं ,’पौडेलले भने । 

‘साँघुरो’का लेखक पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो ।  फिल्मले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गर्नेछ ।  फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी  छिन् । उनले एक
महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । फिल्ममा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी छिन् । 

सुटिङ पूराभएसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । निर्माता अबिरल थापाले फिल्म भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुने जानकारी गराए । 
 

‘नेपाली मिति अनुसार फागुन ३ गते फिल्म रिलिज गर्ने निर्णय गरेका छौं,‘थापाले भने, ‘ डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोच अनुरुप फागुनको समय राखेका हौं ।’ 

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्ममा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ ।  फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्