
काठमाडौं – नेपालको पूर्वी क्षेत्रमा उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको मकालु यातायातको टिकट अबदेखि अनलाइनबाट काट्न सकिने भएको छ ।
प्रविधिको बढ्दो प्रयोगसँगै यात्रु महानुभावलाई टिकट काट्न सहज होस् भन्ने उद्देश्यले माउन्ट मकालु यातायात प्रालिले बस सेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट काट्न सकिने सेवा शुरू गरेको हो । अनलाइन टिकटिङ सेवासँगै अबदेखि पूर्वी नेपालका झापा, मोरङको विराटनगर, धरान, ताप्लेजुङ, जनकपुर लगायतका क्षेत्रमा अनलाइनबाटै टिकट काटेर यात्रा गर्न सकिने छ ।
कम्पनीले राजधानीमा एक कार्यक्रमको आयोजना गरी अनलाइन टिकटिङ सेवाको औपचारिक शुरूवात गरेको हो । कार्यक्रममा माउन्ट मकालु यातायात प्रालिका अध्यक्ष तुलसीमान सिंहले भने, ‘विश्वमा मात्र नभएर नेपालमा पनि अहिले प्रविधिको प्रयोग बढिरहेको छ । हरेक क्षेत्र प्रविधिको प्रयोग गरेर अगाडि बढिरहेका बेला यातायात क्षेत्रलाई पनि प्रविधिमैत्री बनाइ यात्रुलाई सहजता प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले हामीले अनलाइन टिकटिङको सेवा शुरू गरेका हौं ।’
कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने, ‘हामीले नेपालको यातायात क्षेत्रलाई डिजिटलाइज बनाउनुपर्छ भन्ने उद्देश्यले करीब ४ वर्ष अगाडि बससेवा डटकमको स्थापना गरेका थियौं । यही क्रममा पूर्वी नेपालमा उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको मकालु यातायातसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । यातायात क्षेत्रलाई डिजिटलाइज बनाउने हाम्रो अभियानमा मकालुसँगको सहकार्यले महत्त्वपूर्ण सहयोग पुग्छ भन्ने हाम्रो विश्वास रहेको छ ।’
यात्रुले माउन्ट मकालु यातायातको आधिकारिक वेभसाइट माउन्ट मकालु डटकम (www.mountmakalu.com.np) अथवा बस सेवाको वेभसाइट बससेवा डटकम (www.bussewa.com) तथा बस सेवाको मोबाईल एप्सबाट सिधै टिकट काट्न सक्ने छन् ।
यसैगरी, ई–सेवाको वेभसाइट तथा मोबाइल एप्लिकेशनबाट समेत टिकट काट्न सकिने छ । ई–सेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोल छिमेकमा रहेका ई–सेवाका जोन तथा पोइन्टबाट टिकट काट्न सकिने छ । निकट भविष्यमा आईएमई पे, ई–प्रभू तथा एनआईसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिने छ ।
करीब २२ वर्ष अगाडि स्थापना भएको माउन्ट मकालु यातायात प्रालि पूर्वी नेपालमा यात्रुको पहिलो रोजाइको यातायात कम्पनी बन्न सफल भएको छ । यो अविधसम्म ५० लाख रुपैयाँभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेकोे यातायात कम्पनीले समय र यात्रुको मागसँगै डिलक्स र एसी गाडीमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।
बससेवा डटकम नेपालको एक मात्र अनलाइन बस टिकटिङ माध्यम हो । बस सेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।